ई-आर्थिक, काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित रहेको बैंकिङ क्षेत्रका छाता संगठनले स्पष्ट पारेका छन्। नेपाल बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंक संघ, र डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारि गर्दै उक्त कुरा बताएका हुन् ।
संघहरूका अनुसार, नेपालका बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ मापदण्ड अनुरूप सञ्चालनमा छन् र नेपाल राष्ट्र बैंकको नियमनमा सुचारु रूपमा चलिरहेका छन्। हाल सामाजिक सञ्जालमा बैंकिङ प्रणालीबारे गलत सूचना फैलाउने प्रयास भइरहेको भन्दै यस्ता अफवाहमा नपर्न आग्रह गरेका छन् ।
नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति / नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको सर्वविदितै रहेको विज्ञप्तिमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्त (Basel लगायत) को व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं ।
यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति हाम्रो ध्यानाकर्षण गरेका छन् ।
यस संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सूरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गरिएको विज्ञप्तिमा बताएका छन् ।
सामाजिक संजालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुलेसम्प्रेषण गरेको सूचना/समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिनुहुन अनुरोध गर्दछौं । साथै, आम सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाटवञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गरकेा छन् ।
बैंकिङ्ग क्षेत्र प्रति सद्भाव, सहयोग र विश्वास प्रदान गर्नुहुने समस्त ग्राहकवर्गहरु तथा आम जनमानसमा सही सूचना / तथ्य पुयाउन सहयोग गर्नुहुने संचार माध्यमहरु लगायत सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक आभार प्रकट गर्दै हाम्रा सेवा-सुविधाहरुलाई आगामी दिनहरुमा अझै बढी सुदृढ बनाउन हामी प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं ।
