२०८३ साउन १२ मंगलबार

अलैँचीको मूल्य बढेर प्रतिमन एक लाख नौ हजार रुपियाँसम्म पुग्यो

ई आर्थिक    शनिबार, पौस २० २०८१
6.5K
Shares
अलैँचीको मूल्य बढेर प्रतिमन एक लाख नौ हजार रुपियाँसम्म पुग्यो

ताप्लेजुङ । अलैँचीको मूल्य पुनः बढ्न थालेको छ । खोल्सीको ‘कालो सुन’ को उपमा पाएको अलैँचीको मूूूूूूल्य शुक्रबार प्रतिमन (४० किलोग्राम) दुई हजार रुपियाँ बढेको हो । अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीको रुपमा हेरिन्छ ।

पछिल्लो केही सातासम्म स्थिर रहेको अलैँचीको मूल्य शुक्रबार बढेको स्थानीय व्यवसायीले बताएका छन्। सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी कमल बरालका अनुसार अलैँचीको मूल्य बढेर प्रतिमन एक लाख नौ हजार रुपियाँसम्म पुगेको छ। शुक्रबार गुणस्तरीय अर्थात डम्बरसाई (भर्लाङ) प्रजातिको अलैँची प्रतिमन एक लाख नौ हजार रुपियाँमा कारोबार भएको बरालले बताउनुभयो।

उहाँका अनुसार गोलसाई प्रजातिको अलैँची प्रतिमन एक लाख सात हजार रुपियाँमा कारोबार भएको छ। चलनचल्तीको अर्थात रामसाई, चिवेसाईजस्ता प्रजातिको अलैँची भने मनको एक लाख पाँच हजार रुपियाँमा कारोबार भएको उहाँले जानकारी दिनुभयो। व्यवसायीका अनुसार बिहीबारसम्म चलनचल्तीको अलैँची प्रतिमन एक लाख तीन हजार रुपियाँसम्ममा कारोबार हुँदै आएको थियो।

त्यस्तै गोलसाई प्रतिमन एक लाख पाँच हजार र ठूलो दाना भएको भर्लाङगे अलैँची मनको एक लाख सात हजार रुपियाँसम्म कारोबार हुँदै आएको थियो। अब अलैँचीको मूल्य अझ बढ्नसक्ने स्थानीय व्यवसायीको अनुमान छ। भदौ पहिलो सातादेखि बजारमा निस्कन थालेको अलैँची हालसम्म उत्पादनको आधाभन्दा बढी हिस्सा बिक्री भइसकेको पनि व्यवसायीको भनाइ छ।

यता लामो समयपछि यो अलैँचीको मूल्य बढे पनि उत्पादन भने घटेको छ। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यसवर्ष जिल्लामा दुई हजार ५३१ मेट्रिकटन मात्र अलैँची उत्पादन भएको छ। गत वर्ष दुई हजार ५४१ मेट्रिकटन अलैँची उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार ताप्लेजुङमा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij