२०८३ साउन १० आइतबार

जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था छ : मन्त्री भण्डारी

ई आर्थिक    शुक्रबार, पौस १९ २०८१
3.5K
Shares
जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था छ : मन्त्री भण्डारी

ई-आर्थिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था रहेको बताएका छन् । शुक्रबार बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ साधारणसभामा बोल्दै उनले चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी भनेर प्रश्न गर्दै जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने अवस्था देखिएको बताएका हुन् ।

उनले भने,‘हिजोको चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी छ । यो भन्दा निधार खुम्च्याउनुपर्ने अरु कुरा छैन । यो साँचो कुरा हो । जबसम्म व्यक्तिले लाभ उठाउँदैन् तबसम्म वित्तिय क्षेत्रमा पनि सुधार आउँदैन् । जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने र यसको समाधानका लागि नीतिगत कुराको सुधारमा सरकार लागिरहेको छ ।

मन्त्री भण्डारीले आजको दिनमा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको भन्दै बैंकहरूले लगानी गर्न किन सकिरहेका छैनन् भन्दै प्रश्न गरे । सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र रहेको पनि उनको आरोप छ । उनले भने,‘सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र छन् । हामी सम्भावनालाई छोड्दै गइरहेका छौं ।’

साथै मन्त्री भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामीण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताएका छन्  ।  उनले  नेपालमा ७५३ स्थानीय तहमा बैंकिङ पुहँचमा पुग्यो भनेर तथ्याङ्कमा मात्र रमाउन नहुने बताएका हुन्  । उनले पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगे पनि बैंकहरुले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरेका छन् । उनले बैंकहरुले स्थानीय तहमा गरेको कामको परिणाम राम्रो नभएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij