दिल बहादुर ओली
माउण्टेन हेलिकप्टर्स प्रा. लि.
सगरमाथा राष्ट्रिय निकुञ्जमा उडान भर्न रोक लगाउदा हेली क्षेत्रमा कस्तो असर पर्ला ?
सबै हेलिकोप्टरहरुको ९८ प्रतिशत भन्दा बढी व्यापार भनेको सगरमाथा राष्ट्रिय निकुञ्ज वरपर पर्छ । यही क्षेत्रमा उडान रोक गरेपछि हामी जस्तो हेलिकोप्टर व्यवसायीहरु विस्थापित नै हुनुपर्ने अवस्था आउँछ । नेपालमा धेरै पर्यटकहरु आउने भनेकै सगरमाथा हेर्न हो । छोटो समयमा आएका पर्यटकहरु अथवा कुनै कार्यक्रममा आएका विदेशी पाहुनाहरु एकपटक सगरमाथा हेरौं भन्ने उद्देश्य राख्दछन् । उनीहरुले प्रयोग गर्ने भनेकै हेलिकोप्टर हो । त्यस्तै अशक्त हिड्न नसक्ने पर्यटकहरुले पनि सगरमाथा हेर्ने इच्छा राख्दछन् र उनीहरुले प्रयोग गर्ने भनेको हेलिकोप्टर नै हो । यसरी त्यस क्षेत्रमा उडान नै गर्न नदिएपछि हेलिकोप्टर व्यवसायीहरु त विस्थापित नै हुनुपर्ने स्थिति आउँछ । अर्को यसको असर भनेको देशलाई पनि पर्छ । पर्यटकहरु आउँदा देशमा डलर भित्रिन्छ । विदेशी मुद्रा नआउँदा देशलाई घाटा हुन्छ । अर्को धेरै पर्यटकहरु सगरमाथा हेर्नकै लागि भनेर नेपाललाई ट्रान्जिट बनाएर आउने गर्दछन् । यो कार्यबाट उनीहरु सबै रोकिन्छन् । त्यस्तै धेरै पर्यटकहरु सथरमाथा जाँदा पैदलमार्ग प्रयोग गर्ने र फर्कदा हेलिकोप्टरको प्रयोग गर्ने गर्दछन् । यस कार्यले गर्दा उनीहरु पनि रोकिन्छन् । यसरी यस्तो कार्यले होलिकोप्टर व्यवसायी मात्र नभएर पर्यटन व्यवसाय नै ठप्प हुन्छ । र, यसको असर देशको अर्थतन्त्रमा पनि पर्छ ।
कुनै एउटा समूहको स्वार्थ पूरा गर्न यो कार्य गरिदैछ जस्तो मलाई लाग्छ । यतातिर सरकारले ध्यान दिन जरुरी छ । यसरी एउटा समूहको स्वार्थ पूरा गर्न समग्र पर्यटन व्यवसायलाई नै धरासायी बनाउन पाइदैन । यो त विकास विरोधी काम हो । यस्तो कार्यलाई सरकारले तुरुन्त रोक्नुपर्छ ।
एउटा समूहको स्वार्थ पूरा गर्नका लागि पुरै पर्यटन व्यवसाय क्षेत्र नै विस्थापित गराउने काम सरकारले गर्ला त ?
यो दुर्भाग्य हो । एउटा समूहको स्वार्थको पछाडी सरकार किन लागिरहेको छ । यदि यसो होइन भने यस्तो कार्य तत्काल रोक्नुपर्छ । नेपालमा विदेशी मुद्रा भित्र्याउने भनेको पर्यटन क्षेत्र मात्रै हो । यही क्षेत्रलाई किन विस्थापित गरिदैछ । यदि यो क्षेत्र विस्थापित भयो भने देशको अर्थतन्त्र नै खलबलिन सक्छ । अहिले सगरमाथा निकुञ्ज क्षेत्रमा हेलिकोप्टरलाई मात्र रोक लगाउने भनिएको छ । त्यही क्षेत्रमा हिड्न चाँही पाइन्छ । यो कस्तो नियम हो । एउटा समूहको पछाडी सरकार कुदेको प्रष्ट हुन्छ ।
यो क्षेत्रमा नीतिगत समस्या के–के देखिन्नुहुन्छ ?
नेपालमा वायुसेवा सञ्चालन नीति पुर्नमूल्याकन नभएका धेरै वर्ष भइसकेको छ । २०१५ सालतिर बनेको नियम नै अहिलेसम्म छ । यसलाई परिमार्जन गर्नेबेला भइसकेको छ ।
सरकारले माननीय अनिलकुमार सिंन्हाको संयोजकत्वमा हवाई नीति सुधार आयोग गठन गरेको छ । यसले सबैका समस्याहरुलाई समाधान गर्नेखालको सुझाव आउँछ हामी सबैको अपेक्षा छ ।
नेपालमा कति हेलि कम्पनी र हेलिकोप्टरहरुको संख्या रहेका छन् ?
नेपालमा अहिले १२ वटा हेलिकोप्टर कम्पनीहरु रहेका छन् । तिनीहरुको २६ वटा जति हेलिकप्टरहरु रहेका छन् । नयाँ हेलिकप्टर किन्दा झन्डै एउटाको ४० देखि ४५ करोड रुपैयाँ पर्छ । यसरी हेर्दा यस क्षेत्रमा अर्बौको लगानी रहेको छ ।
हेलिकोप्टरहरुबीच प्रतिस्पर्धा कस्तो छ ?
हेली क्षेत्रमा हुने प्रतिस्र्धाको कुरा गर्दा व्यवसाय विस्तारमा सबैजना आक्रामक रुपमा लागेका छन् । पर्यटकलाई कसरी छिटो छरितो र गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने कुरामा चाँही प्रतिस्पर्धा हुने गरेको छ । सेवा र सुविधामा प्रतिस्पर्धा हुनु सकारात्मक कुरा हो । तर यस क्षेत्रमा अवस्थ प्रतिस्पर्धा चाँही छैन ।
सन् २०१९ कोभिडको समयमा सबै व्यापार व्यसाय समस्या परेका थिए । त्यसमा पनि पर्यटन व्यवसाय त चौपट नै भएको थियो । कोभिडपछि पर्यटन व्यवसायले लय लिएको छ । सबलै आ–आफ्नो योजनाहरु ग्राहकसामु ल्याएर अगाडि बढिरहेका छन् । यसलाई हामीले सकारात्मक प्रतिस्पर्धाको रुपमा लिनुपर्छ ।
हेलिकोप्टर कम्पनीहरुले भाडादरमा एकरुपता हुन नसकेको गुनासो समय समयमा सुनिन्छ ? यसलाई वायुसेवा सञ्चालन संघले के गर्दै छ ?
हेलिकोप्टरहरुको भाडाको सन्दर्भमा पर्यटन मन्त्रालय, नागरिक उड्डयान प्राधिकरण, वायुसेवा सञ्चालक संघ जस्ता संस्थाहरु बसेर दुई वा तीन वर्षको अन्तरालमा दुरी र लाग्ने खर्चको आधारमा मूल्य निर्धारण गरिदै आएको छ । विगतका समयमा हेलिकोप्टर व्यवसायमा भ्याट लाग्दैनथ्यो । त्यस्तै हेलिकोप्टर खरिद तथा पार्ट पुर्जा खरिद गर्दा पनि भ्याट लाग्दैनथ्यो । तर अहिले सबैमा १३ प्रतिशत भ्याट लाग्दछ । यसले गर्दा पनि भाडादर महंगो भएको हो । तर भाडादरमा सबै हेलिकोप्टर कम्पनीहरुको एकरुपता नै छ ।
यो क्षेत्रमा प्राविधिक तथा दक्ष जनशक्तिको अवस्था चाँही कस्तो छ ?
यस क्षेत्रमा दक्षजनशक्तिहरुको अभाव नै रहेको छ । अहिले पनि सीजनमा पाइलटको अभाव हुन्छ । हामीले सीजनमा विदेशी पाइलट ल्याउनै पर्छ । यहाँका पाइलटले मात्र पुग्दैन । त्यस्तै प्राविधिक क्षेत्रको कुरा गर्दा बुद्ध एयरको एउटा ह्यांगर मात्र छ । त्यहाँ लामो समयसम्म पालो कुरेर बस्नुपर्ने हुन्छ । अहिले यो समस्या समाधानका लागि प्रत्येक हेली कम्पनीले को–पाइलटहरुलाई ट्रेनिङ दिएर तयारी गरिरहेका छन् । उनीहरु पाइलट बन्न कम्तिमा पनि दुई तीन वर्ष लाग्छ । अहिले हेर्दा यो क्षेत्रमा प्राविधिक र दक्ष जनशक्तिको अभाव नै रहेको छ ।
हेलिकोप्टर कम्पनीहरुको वित्तीय अवस्था कस्तो होला ?
कोभिडको समयमा यस क्षेत्रको वित्तीय अवस्था अतिनै खराब थियो । त्यस समयमा टिक्न नै गार्हो हुने अवस्था आएको थियो । हेलिकोप्टरको बिजनेस पर्यटककले नै धानेको व्यवसाय हो । यसको मूख्य स्रोत पर्यटक नै हुन् । २०२४ को सुरुवातीदेखि पर्यटक आगवनमा केही वृद्धि भएका कारणले यो क्षेत्र अहिले सुधार हुँदै गइरहेको छ । फेरि कहिले राष्ट्रिय निकुञ्जमा उडान गर्न नपाइने जस्ता कुराहरु आएका छन् । यसले गर्दा फेरि धरासायी हुने अवस्था आउन सक्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति तपाईहरुको आशा के कस्तो छ ?
नेपाल नागरिक उड्डयन प्राधिकरण भनेको समग्र उड्डयान क्षेत्रको अभिभावक हो । प्राधिकरणले जहिले पनि सहज र सरलखालको वातावरण बनाइदिनु पर्छ । र, बनाइराखेको पनि छ । प्राधिकरणले लिने ल्याडिङ, पार्किङदेखि अन्य शुल्कहरुमा नेभिगेसन चार्जहरु कम भइदियो भने केही राहत हुन्थ्यो । हामीले प्रत्येक ल्याडिङमा १० डलर चार्ज तिर्नु पर्छ । हेलिकोप्टर भनेको जहाँपनि ल्याण्ड गर्नुपर्ने हुन्छ । यसरी छोटो दुरीमा ल्याण्ड गर्नुपर्दा हामीले धेरै नै चार्ज तिर्नुपर्ने हुन्छ । अर्को भनेको मर्मतको लागि ह्यांगरको कुरा आउँछ । अहिले बुद्ध एयरको मात्र एउटा ह्यांगर छ । हामीले हेलिकोप्टरको मर्मत गर्नुपर्यो भने लामो समयसम्म कुर्नुपर्ने हुन्छ । मर्मतका लागि अर्को ह्यांगरको व्यवस्था भइदिए हामीलाई राहत हुने थियो ।
माउन्टेन हेलिकोप्टरको स्थापना कहिले भयो ? कतिवटा हेलिकोप्टरबाट सेवा दिइरहेको छ ?
माउटेन हेलिकोप्टर सन् २००९ मा स्थापना भएको हो । त्यो समयमा चारवटा हेलिकोप्टरले सेवा दिइरहेको थियो । पछि कम्पनीले दुईवटा हेलिकोप्टर बेचेर दुईवटा संचालनमा ल्यायो । र, हामीले २०१७ मा किन्यौं । र, अहिलेसम्म संचालन गर्दै आइरहेको छौं । अहिले हामीले दुईवटा हेलिकोप्टरले सेवा दिइरहेका छौं । निकट भविष्यमा नै हामीले अर्को एउटा हेलिकोप्टर ल्याउने योजनामा छौं ।
माउन्टेन हेलिकोप्टर वायुसेवा संचालक संघमा आवद्ध नहुनका कारण के हो ?
वायुसेवा संघमा हामी पहिला आवद्ध थियौं । हामीले यसलाई नविकरण नगरेको मात्रै हो । कतिपय कुराहरुमा यस क्षेत्रमा परेका समस्याहरुलाई समाधान गर्दै संघमा आवद्ध कम्पनीहरुको संरक्षण गर्ने दायित्व संघको हुन्छ । तर संघले अभिभावकको भूमिका निर्वाह गर्न सकिरहेको छैन । त्यसैले हामीले नविकरण नगरेका हौ ।
माउन्टेन हेलिकप्टर विशेषताहरु के के छन् ?
नेपालमा उड्ने सबै हेलिकोप्टरहरु उच्चक्षेत्रमा उड्न सक्ने क्षमता छन् । विश्वमा उच्च क्षेत्रमा उडान गर्न सुरक्षित हुने खालकै हेलिकोप्टरहरु नेपालमा सञ्चालित छन् । नेपालका सबै हेलिकोप्टर कम्पनीका एउटै प्रकृतिका हेलिकोप्टरहरु रहेका छन् । हेलिकोप्टर कम्पनीहरुको विशेषताको कुरा गर्दा उनीहरुको विजनेस प्लान मात्र फरक हुन सक्छ । अरु सबै कुरा एकै प्रकारका हुन्छन् । हाम्रो कुरा गर्ने हो भने नेपालकै अनुभवी पाइलटाहरुले माउनटेन हेलिकोप्टरहरु उडाइरहेका छन् । त्यस्तै अनुभवी विदेशी पाइलटहरु पनि हामीसँग छन् । पर्यटक अथवा यात्रुलाई ढुक्कका साथ सुरक्षित तरिकाले गन्तव्यमा पुर्याउन हामी कटिबद्ध छौं ।
हेलिकप्टर व्यवसाय क्षेत्रका चुनौती तथा सम्भावना के के छन् ?
हेलिकोप्टर क्षेत्रका चुनौतीसंगै सम्भावना पनि एकदमै राम्रो छ । नेपाल प्रकृतिक रुपमा धेरै धनी छ । यहाँको प्राकृतिकलाई नै देखाएर हामी धनी हुन सक्छौं । यहाँ र्याफ्टिङ, प्याराग्ल्याइडिङ, हेली स्की जस्ता अवधारणा ल्याएर उच्च मूल्य तिर्नसक्ने पर्यटक भित्र्याउन सकिन्छ । यहाँ नयाँ नयाँ प्याकेज बनाएर धेरै पर्यटकहरु भित्र्याउन सकिन्छ । त्यसैले नेपालमा यो व्यवसायको सम्भावना धेरै राम्रो छ ।