ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । गत आइतबार पनि केन्द्रीय बैंकले ६० अर्ब खिचेको थियो। बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार यो निक्षेप संकलन १२ दिनको अवधिका लागि हुनेछ ।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् । बोलकबोलका लागि न्यूनतम १० करोड र अधिकतम ५ करोडले भाग जाने गरी कुल ४० अर्ब रुपैयाँको रकमसम्म बोलकबोल गर्न सकिनेछ ।
राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो।
राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंकहरुले पुस ९ गते बेलुका २ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्यूनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्।
सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्नेछ। अहिले पनि बैंकहरुले खासै कर्जा लगानी गर्न सकेका छैनन् जसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ। प्रणालीमा तरलता सन्तुलन राख्न केन्द्रीय बैंकले निरन्तर तरलता खिच्नुपरेको छ।
यस प्रक्रियामा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइ बोल रकम बाँडफाँड गरिनेछ । समान ब्याजदर भएका अवस्थामा, आवश्यक परे लट प्रणालीमार्फत बाँडफाँड गरिने प्रावधान राखिएको छ ।
स्वीकृत बोलवालाको खाताबाट रकम झिकेर अलग्गै खाता खोलिने र निक्षेप रकम बैंकका निर्देशिकाबमोजिम मात्र प्रयोग गर्न पाइने छ । भुक्तानी मिति पुस २१ गते तय गरिएको छ ।