वीरगञ्ज। बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिने डा. चिता यजनेश सेट्टीद्वारा वीरगन्ज महानगरपालिका किशोरीहरूलाई आत्मरक्षाका लागि तालिम दिने भएका छन् । एकैपटक १० हजारभन्दा बढी किशोरीहरूलाई आत्मरक्षाका लागि तालिम वीरगन्ज महानगरपालिकाले दिने भएका हुन् । महानगरपालिका अनुसार कक्षा ६ देखि १२ सम्मका छात्राहरूलाई तालिम दिन लागिएको हो । बुधबार बिहान १० बजेबाट सुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगन्जका सामुदायिक र निजी विद्यालय, क्याम्पस गरी १० हजारभन्दा बढी छात्राहरूको सहभागिता रहने महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए।
एकसाथ १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एकसाथ तालिम दिएर महानगरको नाम लेखाउने तयारी समेत भएको उनले बताए । यो तालिम सफल रूपमा सम्पन्न भए वीरगन्जको नाम अन्तर्राष्ट्रिय रूपमा चर्चित हुने हुँदा आम नगरवासीलाई कार्यक्रम सफल पार्न पनि आग्रह गरेका छन् ।
वीरगन्ज महानगरपालिकाको आयोजना तथा नेपाल-भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक बोलाएर सहभागीहरूलाई प्रशिक्षण दिन लागिएको महानगका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए ।
आदर्शनगर रङ्गशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरूलाई ल्याउने लैजाने व्यवस्थासहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए । भारतबाट आउनुभएका प्रशिक्षक सेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्सल आर्टिस्ट र फिटनेस प्रशिक्षक समेत हुन् ।
उनले अमिताव बच्चन, सलमान खान, अजय देवगण, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टण्डन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएका छन् ।
पत्रकार सम्मेलनमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरूलाई प्रशिक्षण दिन आउन पाउँदा खुसी लागेको बताएका छन् । बुधबार हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयंसेवीहरू खटाइएको छ ।