२०८३ साउन १२ मंगलबार

काँग्रेस नेतृत्वको समीकरण कसरी बन्दैछ, यस्तो छ भित्री तयारी

ई आर्थिक    बिहिबार, कार्तिक ८ २०८१
20.3K
Shares
काँग्रेस नेतृत्वको समीकरण कसरी बन्दैछ, यस्तो छ भित्री तयारी

महत, कोइराला, खड्का र थापा प्रवल दाबेदार

रोशन राउत, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बृद्ध हुँदै गएपछि उत्तराधिकारीको चिन्ता गर्न थालेका छन् । सुशील कोइरालाको पक्षमा दुई तिहाई पार्टी प्रतिनिधिहरुको मत हुँदाहुदै उहाँको देहान्तपछि पार्टी सभापति पद हत्याएका देउवा राजनीतिका एक चतुर खेलाडीको रुपमा चिनिन्छन् । पार्टीको विधानअनुसार दुई कार्यकाल सभापति भइसकेका देउवा उमेरका कारण थप सक्रिय हुने संभावना न्यून छ । विधानअनुसार एक बर्षका लागि कार्यकाल लम्व्याउन सक्नछन् ।

आगामी पार्टीको नेतृत्व लिनका लागि डा. शेखर कोइराला, गगन थापा, डा. प्रकाशशरण महत, प्रकाशमान सिंह, पूर्ण बहादुर खड्का, कृष्ण सिटौला, विमलेन्द्र निधि इच्छुक देखिन्छन् । डा. महत, सिंह, खड्का, सिटौला र निधि देउवा पक्षका हुन भने कोइराला र थापा अर्को पक्षका प्रतिस्पर्धी हुन् ।

देउवा पक्षबाट आकांक्षी रहेका बालकृष्ण खाँड भ्रष्टाचार मुद्दामा फसेका छन् । कोइराला क्याम्पबाट देउवा तिर गएका सिंह स्वास्थ्यका कारण सक्रिय हुने संभावना छैन् । त्यसैले उनलाई वर्तमान मन्त्रीपरिषद्मै पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेर पठाइएको छ । निधि तराईको क्षेत्रीय दायरा भन्दा माथि उठ्न सकेका छैनन । अन्यथा पूर्वमहामन्त्री रहेका र महेन्द्रनारायण निधिको सुपुत्र भएकोले देउवा पक्षबाट उनको नाम अगाडि आउन सक्थ्यो ।

पार्टीमा पक्कड कमजोर हुँदै गएको, तराई भन्दा माथि उठेर राजनीति गर्न नसकेको र छिमेकसँगको सम्बन्ध विशेषगरी दक्षिणतर्फको सम्बन्ध कमजोर बन्दै गएपछि विगत केही बर्षयता निधिले नेतृत्वको आश मारिसकेका छन् ।

सिटौला आकांक्षी त छन् तर, पार्टीमा योगदान कम भएको हामी छुटै गुट बनाएर पछि देउवातिर साझेदारी गर्न थालेका हुन् । त्यसैले उनलाई देउवाले पूर्ण विश्वास गर्न सकेका छैनन् । आफ्नै क्षेत्रको भएकोले पूर्णबहादुर खड्कालाई अगाडि बढाउन चाहन्छन् । तर नेतृत्व गरिहाल्ने गरी उनको व्यक्तित्व निर्माण नभएकोले केही बर्ष यतादेखि देउवाले डा. प्रकाशशरण महतलाई अगाडि बढाउन थालेको जस्तो देखिन्छ । खड्का हाल पार्टी उपसभापति छन् तर, डा. महतले महामन्त्रीमा चुनाव हारेका छन् । महामन्त्रीमा सजिलै जित्ने निष्कर्ष निकालेका देउवा खड्का लगायत आफू पक्षीय केही नेताहरुले असहयोग गरेका कारण डा. महतले महामन्त्रीमा चुनाव जित्न नसकेपछि नराम्ररी झस्किएका छन् । त्यसैको बदला स्वरुप खड्काको तीब्र इच्छा र अनुनय विनयका वाबजुद देउवाले उनलाई अर्थमन्त्रीमा अगाडि ल्याएनन् । बरु उनीहरु सबैको मेख मार्न डा. महतलाई अर्थमन्त्रालयको जिम्मेवारी दिलाए ।

२०३६ सालतिर बलबहादुर केसीले नेविसंघको सभापति हुँदा खड्का पाँच उपसभापति मध्ये एक क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी उपसभापति थिए भने डा. महत नेविसंघको केन्द्रीय महामन्त्री थिए । यी दुईबीच व्यक्तित्वको टक्कर त्यही वेलादेखिको हो । खड्का उपसभापति भएपनि सुदुरपश्चिम क्षेत्रलाई प्रतिनिधित्व गर्ने पाँच उपसभापति मध्येका एक भएको र आफू सभापति पछि सबैभन्दा शक्तिशाली पद महामन्त्री भइसकेकोले अहिले पार्टी सभापतिको नेतृत्व आफूलाई दिनुपर्ने दाबी गरिरहेका छन् । अर्कोतिर खड्का उनले चुनाब हारिरहेका र आफू उपसभापति रहेकोले स्वभाविक रुपमा नेतृत्वको दाबी गर्न योग्य भएको बताइरहेका छन् । आफ्नै गुटभित्र अन्तरघात भएर डा. महतलाई हराइएकोले रुष्ट देउवा त्यसपछि निरन्तररुपमा उनलाई च्यापीरहेका छन् । यो थाहा पाउन साथ खड्का केही समय शेखरसँग नजिकिन पुगेको बताइन्छ ।

देउवाको भित्रि इच्छा चाँही पार्टीको आगामी नेतृत्वमा श्रीमती आरजु देउवालाई स्थापित गराउन चाहन्छन् । त्यसका लागि को उपयुक्त हुन्छ उसैलाई मद्दत गर्ने मुडमा रहेको नजिकका सुत्रहरु बताउँछन् । यता आफूलाई अगाडि बढाउँछन् भन्ने संकेत पाएका डा. महत देश दौडाहामा व्यस्त देखिन्छन् । पढेलेखेका विद्वान भएको र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पछिल्लो समय देशभित्रको सांगठानिक अनुकुलता बढाउँदै लगेका डा. महतले अहिले निक्कै अनुकुल माहोल बनाउँदै लगेका छन् । उनले आन्तरिक संगठनका अतिरिक्त विदेशसँगको सम्बन्ध बढाउँदै लगेका छन् भने विदेशस्थित पार्टीका जनसम्पर्क समितिहरुलाई परिचालन गर्न थालेका छन् । अर्कोतिर कोइराला एक प्रवल दाबेदारको रुपमा पहिला पनि अगाडि आइसकेका हुन् । तर, उनलाई परिवारभित्रैबाट विशेषगरी सुजाता र डा. शशांक कोइरालाबाट असहयोग भयो । हालका महामन्त्री गगन थापाले एकपटकलाई भनेर गत अधिवेशनमा सहयोग गरेपनि अहिले उनी आफैं सभापतिमा चुनाव लड्ने मनस्थितिमा छन् । यसो भयो भने कोइराला ग्रुप थप कमजोर हुनसक्छ । यस्तो अवस्थामा डा. महतलाई सभापति जित्न सहज हुनसक्छ । तर, पहिलो र दोस्रो मत कसको बढी आउँछ र तेस्रोले दोस्रो चरणको चुनावमा कसलाई मद्दत गर्छ भन्ने कुराले यहाँ ठूलो महत्व राख्छ ।

एकपटकलाई पार्टी सभापति देउवाले डा. महतलाई सभापति, थापालाई उपसभापति र आरजुलाई महामन्त्रीमा ल्याउने समिकरण बनाउन सक्छन् । अर्को उपसभापतिमा खड्का, अर्को महामन्त्रीमा विश्वप्रकाश शर्मा र अन्यलाई सह–महामन्त्रीहरुमा अटाउने र कतिपयलाई सरकारमा लैजाने बचन दिएर आफ्नो पक्षमा पार्न सक्छन् । देउवा बचनका पक्का मानिन्छन् । उनले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाई छाडे, पछिल्लोपटक प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री बनाइ छाडे, रमेश लेखकलाई गृहमन्त्री बनाइ छाडे । उनले अब शशांक र सिटौलालाई गुन लगाउन बाँकी छ । सिटौलालाई राष्ट्रिय सभामा ल्याएर अध्यक्ष बनाउने उनको सोच थियो । तर, त्यो पूरा भएन् । कोइरालाहरुसँग भिडेर पार्टी नेतृत्व आफ्नो नियन्त्रणमा लिएकोले अर्को विश्वास पात्र नेतालाई नेतृत्व सुम्पने धेरैको आंँकलन छ । अहिलेसम्म देउवा पार्टी सभापतिको हैसियतले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाभन्दा बलिया देखिन्छन् । त्यसैले उनले जसलाई चाह्यो त्यही सभापति बन्ने बलियो संभावना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij