गौशाला धर्मशाला विवाद
ई-आर्थिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउने कार्य तत्काल रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशनमा मन्त्रालयले कोषलाई बुधबार पत्र लेख्दै शान्ति सुरक्षामा समस्या उत्पन्न भएकाले अर्को निर्णय नभएसम्म स्थगित गर्न निर्देशन दिइएको हो ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को असोज २० गते बसेको बैठकले पनि धर्मशाला सञ्चालन र व्यवस्थापनका सन्दर्भमा काठमाडौँ महानगरपालिकासँग समन्वय गर्ने निर्णय कार्यान्वयन नगर्न भनिएको छ । पत्रमा यसअघि कोषले गरेको निर्णयबारे निक्र्योल नभएसम्म परिषद्ले यसअघि गरेका निर्णय कार्यान्वयन रोक्न निर्देशन दिइएको छ । यसबारे छलफल गर्न कात्तिक ४ गते आइतबार सञ्चालक परिषद् बैठक बोलाइएको छ ।
यसैबिच कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले पशुपतिनाथ मन्दिर क्षेत्रभित्रै तनाव सिर्जना हुने स्थिति आएकाले तत्काल उक्त निर्णयको कार्यान्वयन स्थगित गरिएको बताउनुभयो । उनले भने, “मैले कसैको दबाबमा परेर होइन, शान्ति सुरक्षामा समस्या हुनु राम्रो होइन । त्यसैले परिषद् बैठकमा छलफल गरेर निर्णयमा पुग्छौँ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गर्नुभएका थिए । साथै उनले धर्मशालासम्बन्धी कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिनुभएका हुन् ।
पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिनुभएको छ । साथै उहाँले यही कात्तिक ४ गते परिषद् बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आह्वान गर्नुभएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताएका थिए ।
कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो । यसअघि धर्मशाला सञ्चालन गर्ने आएको मारवाडी सेवा समिति कोषको उक्त निर्णयको विरोधमा उत्रिएको छ ।