ई–आर्थिक, काठमाडौं । गएको बिहीवारदेखि तीन दिनसम्म परेको अविरल बर्षाका कारण ठूलो मानविय क्षतिका साथै अर्बौको भौतिक संरचना ध्वस्त भएको छ । सडक विभागका सहायक प्रवक्ता ई. अमितकुमार शर्माका अनुसार बढी र पहिरोका कारण देशभरि भौतिक संरचना र सडक सञ्जालमा पनि ठूलो क्षति पुगेको छ। विभागमा प्राप्त प्रारम्भीक तथ्यांक अनुसार ६ वटा पुल र २१ किमी हाराहारीको लम्वाई सडक सञ्जाललाई बाढी पहिरोले बगाएर क्षति पुर्याएको छ । बढी र पहिरो पक्की पुल र सडक संरचनाका अतिरिक्त बेलिब्रिज र झोलुङ्गे पुलमा समेत ठूलो क्षति पुर्याएको छ ।
यसपटकको बाढी पहिरोले सबैमा गरी डेढ दर्जन भन्दा बढी पुल र सडकमा क्षति पुगेको छ । पुल र सडकमा पुगेको क्षतिका कारण काठमाण्डू आउजाउ गर्ने मुख्य राजमार्गहरूमा अहिले सर्वसाधारण र यातायातका साधानको आवत जावत ठप्प छ ।
सहायक प्रवक्ता शर्माका अनुसार भत्किएको पुल संरचना निर्माण गर्न दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लागत लाग्ने विभागको प्रारम्भीक अनुमान छ ।
यसपटकको बाढी पहिरोले निजी घर र पूर्वाधारहरूमा समेत व्यापक क्षति पुगेको छ । विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले समग्र क्षतिको मूल्याङ्कन गर्न एउटा कार्यदल बनाउने निर्णय गरेको छ ।
अर्बौँ रुपैयाँ बराबरको क्षति पुगेको आकलन गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले ‘पुर्ननिर्माणका लागि महिनौँ लाग्ने’ जनाएका छन् । प्राधिकरणका अनुसार सडक, पुल र सिँचाइका भौतिक पूर्वाधारमा मात्र पाँच अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक आकलन रहेको छ ।
बीपी राजमार्गको भौगोलिक अवस्था जटिल भएकाले ‘डाइभर्शन’ बनाए पनि सवारी आवागमन तत्काल सुरु गर्न सकिने अवस्था छैन । काठमाण्डूबाट नौबिसे हुँदै पर्सापारि भारतको रक्सौलसम्म पुग्ने त्रिभुवन राजपथमा केही ठाउँमा ससाना पहिरो गएका छन् । तिनमा समेत यातायात र सर्वसाधारणलाई आवत जावतमा समस्या रहेको छ ।
त्यसै गरी काठमाण्डूलाई तातोपानी नाकासँग जोड्ने अरनिको राजमार्गमा एउटा बेलिब्रीज र अर्को पक्की पुल बगाएको छ । कान्ति लोकपथमा समेत बागमती पुल जोड्ने ३०० मिटर सडक बगाउँदा हेटौँडासँग उक्त राजमार्गको सम्पर्क भङ्ग भएको विभागले जनाएको छ। मुग्लिन–नारायणघाट सडकखण्डमा समेत सवारी आवागमन रोकेरै भासिएको ठाउँ ‘अस्थायी सिलिङ बनाउँदै’ सडक मर्मत गर्ने काम भइरहेको छ ।