ई–आर्थिक, काठमाडौं । रामेछापमा बोलेरो दुर्घटना हुँदा एक जना महिला वडा सदस्यको ज्यान गएको छ । सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका–४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको डबल क्यापको बोलेरो मन्थली नगरपालिका–५ सुनारपानीस्थित भदौरे डाँडा मोडमा आइतबार दिउँसो दुर्घटना हुँदा मन्थली नगरपालिका–४ सालुकी वडा सदस्य अन्दाजी ६० वर्षीया पदममाया नेपालीको मृत्यु भएको हो ।
मृतक वडा सदस्य नेपाली २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । दुर्घटनामा परी मन्थली नगरपालिका –४ सालुकी ३४ वर्षीय सीता नेपाली, २५ वर्षीय सुजिता रसाइली, ६९ वर्षीय दिलीपकुमार बरुवाल, ४२ वर्षकी गुणमाया थापामगर, २५ वर्षीया सरिता नेपाली र ५ महिनाको बालिका रोनिसा नेपाली घाइते भएका छन् ।
घाइतेमध्ये चालक गुणकुमार थापामगर र दिलीपकुमार बरुवालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो ।
घाइतेहरूको सदरमुकाम मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक वडा सदस्य नेपालीको शव मन्थली अस्पतालमा राखिएको छ ।