ई–आर्थिक, काठमाडौं । पक्राउ पुर्जी जारी भएको पाँच दिनपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । घरको गेट नखुले पछि प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित घरकोृ कम्पाउण्ड नाघेर व्यवसायी प्रसाईलाई नियन्त्रमा लिएको हो ।
उनी विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएको थियो । त्यही पक्राउ पुर्जी अन्तर्गत प्रहरीले भक्तपुरबाट प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।
साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पुर्जी जारी भएको केही दिन भइसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन् । पक्राउ पुर्जी जारी भएका प्रसाई पत्रकार सम्मलेन र कानुनी परामर्शमा रहेका थिए । उनको घर परिसरमा लगातार उनका समर्थक र प्रहरीले निगरानी गर्दै आएका थिए । अन्ततः केही दिनको कसरतपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो ।