२०८३ साउन ११ सोमबार

लालबन्दी तरकारी बजारमा केही दिनदेखि सीमावर्ती क्षेत्रका व्यापारीको ओइरो

ई आर्थिक    शनिबार, भाद्र १ २०८१
3.4K
Shares
लालबन्दी तरकारी बजारमा केही दिनदेखि सीमावर्ती क्षेत्रका व्यापारीको ओइरो

ई–आर्थिक, सर्लाही । सर्लाहीको लालबन्दी तरकारी बजारमा केही दिनदेखि सीमावर्ती क्षेत्रका व्यापारीको ओइरो लागेको छ । पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी मधेश प्रदेशको प्रमुख थोक तरकारी बजारका रूपमा परिचित छ ।

वर्षापछि डुबानमा परेर दक्षिणी भेगमा तरकारी बाली धेरै नै नष्ट भएसँगै सीमावर्ती क्षेत्रका व्यापारी तरकारी खरिद गर्न उत्तरी भेगस्थित लालबन्दी बजारमा ओइरिएका हुन् । सीमावर्ती क्षेत्रबाट ठुलो सङ्ख्यामा तरकारी किन्न लालबन्दी बजार आइपुगेका व्यापारीबिच बिहान सबेरै किसानले साइकल र मोटरसाइकलमा ल्याएको तरकारी किन्न हानाथाप हुने गरेको छ ।

केही दिन ठुलो पानी परेर रोकिएपछि अहिले चर्को घाम लाग्न थालेसँगै बाँकी भएका तरकारीका बोट पनि मर्न थालेको छ । कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरनबहादुर मगरले दक्षिणी भेगमा तरकारी बाली धेरै नै नष्ट भएकाले नाकाछेउबाट आएका व्यापारीले खोसाखोस गरी तरकारी किनेर लगिरहेको जानकारी दिनुभयो ।

‘वर्षाले तरकारी नष्ट भएपछि उत्तरी भेगमा उत्पादन भएका लौका, परबल, बोडी, भिन्डीजस्ता तरकारी सीमावर्ती बजार र सीमापारि भारतीय बजारसम्म पनि पुगिरहेको छ,” उहाँले भन्नुभयो । दक्षिणी भेगबाट धेरै व्यापारी आउँदा लालबन्दीका पुराना व्यापारीले पर्याप्त तरकारी किन्न पाएका छैनन् ।

उनीहरूले काठमाडौँसहित अन्य सहरमा पठाउने तरकारीको परिमाण घटेको छ । बजार समितिका अध्यक्ष मगरका अनुसार अहिले लालबन्दी बजारबाट मलङ्गवा, चन्द्रनिगाहपुर, गौर, वीरगन्ज, जनकपुरलगायतका छेउछाउका बजारमा १५ टन र काठमाडौँमा ११५ टन तरकारी दैनिक निर्यात भइरहेको छ ।

तरकारी उत्पादन घटेर व्यापारीबिच तरकारी खरिद गर्न प्रतिस्पर्धा चलेपछि किसानले दुई सातायता राम्रो मूल्य पाइरहेका छन् । लालबन्दी नगरपालिका–११, हिरापुरका किसान तीर्थमान घिसिङले अहिले हरेक तरकारीको मूल्यमा प्रतिकेजी २० देखि ३० रुपियाँसम्म बढी मूल्य पाउँदा राहत मिलेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij