२०८३ साउन १२ मंगलबार

बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो, पाँच दर्जनभन्दा बढी घाइते

ई आर्थिक    सोमबार, असार २४ २०८१
3.5K
Shares
बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो, पाँच दर्जनभन्दा बढी घाइते

ई–आर्थिक, काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरोलगायतका विपदमा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

बाढी, पहिरोमा परी काठमाडौँ एक जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुई जना तथा सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

यसै गरी बाढी पहिरो तथा विपदका कारण काठमाडौँ तीन जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा चार जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा दुई जना, कर्णाली प्रदेशमा ११ जना तथा सुदूरपश्चिम प्रदेशमा एक जना गरी जम्मा ५४ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । उहाँका अनुसार बाढी पहिरोमा परी कोशी प्रदेशमा तीन जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना तथा कर्णाली प्रदेशमा एक जना गरी सात जना बेपत्ता भएका छन् ।

यसै गरी बाढीको कारण एक सय २१ घर डुबानमा परेका छन् । जसअन्तर्गत ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, एक विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ प्रहरीले जनाएको छ । बाढी पहिरामै परी एक सय ८८ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपदका घटनाबाट एक हजार ५८ घर परिवार विस्थापित भएका छन् ।

भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायतका ठुला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ । देशैभरी तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij