ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम सदुपयोग भएको दाबी गरेका छन् । उनले उक्त कर्जा दुरुपयोग नभएको स्पष्ट पारेका हुन् । शनिबार आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औँ वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा त्यसमा दुरुपयोग नदेखिएको बताए ।
केही व्यक्तिबाट दुरुपयोग भएको देखिएकामा असुल प्रक्रिया पनि प्रारम्भ भइसकेको उनले बताए ।
“कृषि कर्जाको अनुदान दुरुपयोग भएको भन्ने सतही कुरा हुन् । यो सफल कार्यक्रम देखिएको छ र अनुदानको प्रभावकारिता राम्रो छ”, गभर्नर अधिकारीले भने, “हाम्रो अध्ययनका क्रममा निकै सानो संख्यामा मात्रै यस्तो कर्जा दुरुपयोग भएको देखिएको छ । यसलाई असुल गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ ।” सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गर्ने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेर कार्यविधिअनुसार नै अनुदान उपलब्ध गराइएको गभर्नर अधिकारीले दाबी गरे । हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको जनाउँदै त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेका उनले बताए ।
यो कार्यक्रम विवादमा परेपछि विसं २०७९ असोजयता अनुदान नदिइएको उनले स्पष्ट पारे ।
उद्यमशीलता विकास एवं रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षारता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि गभर्नर अधिकारीले बताए ।
पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थाले पनि साना किसान सहकारी संस्थाहरुमा भने यस्तो समस्या नआएको उनको भनाइ छ । विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने अवस्था आएको पनि गभर्नर अधिकारीले उल्लेख गरे ।