२०८३ साउन ११ सोमबार

ठूलो भर्‍याङको यातायात कार्यालय अन्यत्र सारिँदै

ई आर्थिक    बुधबार, असार ५ २०८१
10.5K
Shares
ठूलो भर्‍याङको यातायात कार्यालय अन्यत्र सारिँदै

ई–आर्थिक, काठमाडौं । बागमती प्रदेश सरकारले काठमाडौंको ठूलो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालय अन्यत्र सार्ने निर्णय गरेको छ । यहाँ रहेको कार्यालय अन्यत्र सार्दा जनतालाई थप सास्ती दिने दुष्प्रयास भएको स्थानीहरूले आरोप लगाएका छन् ।

बालाजुदेखि कलंकी हुँदै महाराजगञ्जसम्म अर्थात् पश्चिमी भेगका जनतालाई पायक पर्ने ठूलो भर्‍याङस्थित यातायातको लाइसेन्स कार्यालय हचुवाको भरमा अन्यत्र सारेर सो स्थानबाट सेवा लिँदै आएका सेवाग्राहीले थप सास्ती भोग्नुपर्ने अवस्था सिर्जना हुने स्थानीयहरूको भनाइ छ ।

कलंकीदेखि सात दोबाटोसम्म अर्थात् दक्षिण भेगका लागि एकान्तकुना ललितपुरमा अवस्थित छ, भने सातदोबाटोदेखि गौशालासम्म अर्थात् पूर्वी भेगका लागि राधेराधे भक्तपुरमा अवस्थित छ ।

त्यसैगरी गौशालादेखि बालाजुसम्म अर्थात् उत्तरी भेगका लागि चावहिलमा अवस्थित छ, भने बालाजुदेखि कलंकीसम्म अर्थात् पश्चिम भेगका लागि ठूलो भर्‍याङमा अवस्थित रहेको छ । यसरी चारैतिरका सेवाग्राहीहरुलाई सेवा दिन मिल्ने गरी यातायात व्यवस्था कार्यालय स्थापना भएको छ । हाल कुनै आधार बिना नै बालाजु र तीनकुनेमा थप गर्न खोज्नु नीतिगत भ्रष्टाचार बाहेक अरु हुन नसक्ने बताइन्छ ।

ठूलो भर्‍याङबाट बालाजु करिब ३ कि।मि। रहेको छ, भने बालाजुबाट चावहिलको दूरी करिव ४ कि।मि। रहेको छ । त्यसैगरी चावहिलबाट तीनकुनेको दुरी ४ कि।मि रहेको छ । यसरी ३÷४ कि।मि।दुरीमा यातायात व्यवस्था कार्यालय राख्दा देशलाई थप आर्थिक भार पर्ने जानकारहरू बताउँछन् ।

उपत्यकामा हाल सञ्चालनमा रहेको चार वटा लाइसेन्स कार्यालयमा क्षमता अनुसार सवारी चालक अनुमति पत्र लिन सेवाग्रही नआइरहेको समयमा थप कार्यालय स्थापना गर्दा हुने राज्यलाई आर्थिक भारबाहेक अरु केही नहुने निश्चित छ ।

तथ्यांक हेर्ने हो भने एकान्तकुना लाइसेन्स कार्यालयमा प्रत्येक दिन सवारी चालक अनुमतिपत्रका लागि सेवा दिन सकिने कार्यालयको क्षमता १२ सय जनाको हो, तर हाल दर्ता भने करिब २ सय २५ हाराहारीमा रहेको छ । त्यसैगरी ठूलो भर्‍याङ लाइसेन्स कार्यालयको सेवा दिन सकिने क्षमता १६ सय जनाको हो, तर हाल दर्ता भने करिब ३ सय जनाको मात्र रहेको छ । त्यस्तै चावहिल लाइसेन्स कार्यालयको क्षमता एक हजार जनाको हो, तर दर्ता भने करिब २ सय ७५ जनाको हाराहारीमा रहेको छ । भक्तपुर लाइसेन्स कार्यालयको क्षमता एक हजार जनाको हो, तर हाल दर्ता भने करिब २ सय ५० जनाको हाराहारीमा रहेको छ ।

यसरी हेर्दा अहिले उपत्यकाको चारवटै कार्यालयको दैनिक सवारी चालक अनुमतिपत्रका लागि ४ हजार ८ सय जनालाई सेवा दिन सक्ने क्षमता छ, तर हाल एक हजार ५० सेवाग्राही पनि मुस्किलले आउँछन् । जुन कार्यालयको क्षमताको भन्दा झण्डै २५ प्रतिशतले कमी आइसकेको अवस्था हो । यहि अवस्था रहँदै जाने हो भने कार्यालय थप होइन भएका कार्यालयलाई पनि घटाउनुपर्ने अवस्था हुन सक्छ ।

यस्तोमा बागमती प्रदेश सरकारले ठूलो भर्‍याङस्थित यातायातको कार्यालय सारेर नयाँ ठाउँमा कार्यालय स्थापना गरेर देशलाई थप आर्थिक भारमा पार्ने निर्णयबारे पुनर्विचार गर्नुपर्ने सचेत नागरिकहरूको राय रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij