२०८३ साउन १२ मंगलबार

एन्फाका पदाधिकारी ऐनविपरीत मलेसिया भ्रमणमा गएको विषयमा मन्त्रालयको ध्यानाकर्षण, कारबाही गर्न निर्देशन

ई आर्थिक    बुधबार, फाल्गुन ३० २०८०
5K
Shares
एन्फाका पदाधिकारी ऐनविपरीत मलेसिया भ्रमणमा गएको विषयमा मन्त्रालयको ध्यानाकर्षण, कारबाही गर्न निर्देशन

ई–आर्थिक, काठमाडौं ।  युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)का १० जना पदाधिकारीहरू खेलकुद ऐन विपरीत मलेसिया भ्रमणमा गएको भन्दै कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई निर्देशन दिएको छ ।

बुधबार मलेसिया गएको नेपाली टिमको साथमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका थिए । मन्त्रालयले वैदेशिक भ्रमणमा जान राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिनुपर्नेमा सो प्रक्रिया पूरा नगरी गएका उनीहरुलाई कारबाही गर्न निर्देशन दिएको हो ।

खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र प्रवेश कटुवाल (प्रशिक्षक) विनोद डंगोल (गोलकिपर प्रशिक्षक) मनिष तिम्सिना (टेक्निकल स्टाफ), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक)का रुपमा मलेसिया गएका छन् ।

एन्फा उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्र, प्रमुख कार्यकारी अधिकृत सीईओ इन्द्रमान तुलाधर, भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ पनि मलेसिया गएका छन् ।

यस्तै मन्त्रालयले खेल संघका पदाधिकारीलाई वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न गृह मन्त्रालयमा अनुरोध समेत गरेको जनाएको छ ।

‘राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ (झ)मा राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानुनी व्यवस्था रहेको छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यस सम्बन्धमा राष्ट्रिय खेलकुद परिषदको च नं. ६२७ मिति २०८०/११/३० को पत्रानुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम लिनुपर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएको हुँदा कानुन बमोजिम कारबाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिइएको साथै कानुन बमोजिम राष्ट्रिय खेलकुद परिषदको स्वीकृति पश्चात मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठि, सेमिनार, वा सम्मेलनमा भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्ने व्यवस्थाका लागि गृहमन्त्रालयमा अनुरोध गरिएको छ ।’

नेपालले चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । त्यहाँ केही दिन तयारी गरेपछि नेपाली टिम विश्वकप छनोटअन्तर्गत बहाराइनसँग खेल्न बहराइन जाने छ । नेपालले बहराइनसँग चैत ८ र १३ गते खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij