काठमाडौं । दक्षिण कोरियाले आकर्षक तलबमा नेपाली कामदार लैजान चाहेको बताएको छ । दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले उक्त विषय सार्वजनिक गरेका हुन् ।
सचिव भण्डारीले हाल ईपीएस प्रणालीबाट नेपाली कामदार लगेको दक्षिण कोरियाले निकट भविष्यमा मासिक ३ लाख रूपैयाँ पारिश्रमिक हुने गरी नेपालबाट श्रमिक लैजाने तयारी गरिरहेको बताए ।
हाल ईपीएस प्रणालीबाट गएका नेपालीले मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेका छन् । दक्षिण कोरियाका पानी जहाज निर्माण कार्यमा नेपाली कामदार लैजान खोजेको यसअघि पनि सार्वजनिक भएको थियोे । सचिव भण्डारीले मासिक ३ लाख रूपैयाँभन्दा धेरै तलब पाउने दक्ष नेपाली कामदार लैजाने दक्षिण कोरियाले प्रस्ताव गरेकाले त्यसका लागि कार्यविधि बनाइरहेको बताए ।
उनले कोरिया सरकारले नेपालीलाई रोजगारका क्षेत्रमा दिएको प्राथमिकताको प्रशंसा गर्दै स्वदेश फर्केका नेपालीले त्यहाँ सिकेको सीप, ज्ञान र अनुभवका आधारमा रोजगारी सिर्जना हुने काममा लगाउनुपर्नेमा जोड दिए । हाल दक्षिण कोरियाले कृषि, पानीजहाज निर्माणलगायतमा काम गर्न नेपाली कामदार लगिरहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री एनपी साउदले भने नेपाल सरकारले गर्न लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको प्रसंग निकाल्दै दक्षिण कोरियाको कार निर्माता कम्पनी हुन्डाईलगायतका कोरियाली कम्पनीहरूलाई नेपालम लगानी गर्न आग्रह गरे । कार्यक्रममा दक्षिण कोरियाबाट फर्किएर उद्यम गरिरहेकाहरूको कथामा आधारित ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ शीर्षकको पुस्तकसमेत लोकार्पण गरिएको थियो ।