नेपालगञ्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले तिर्न बाँकी विद्युत् महसुल असुली अभियान सुरु गरेको छ। उक्त कार्यालयले अहिलेसम्म दुई दिनको अवधिमा एक करोड ८० लाख ६८ हजार छ सय ७० वक्यौता असुली गरेको हो ।
अभियानअन्तर्गत सोमबार दुई हजार ५ सय ४७ ग्राहकबाट ८५ लाख ४१ हजार ८ सय ७० र आइतबार दुई हजार पाँच सय ७४ ग्राहबाट ९५ लाख २६ हजार ८ सय वक्यौता असुली भएको केन्द्रले जनाएको छ ।
विद्युत वक्यौता महसुल असुली अभियानअन्तर्गत अनलाइन भुक्तानीमार्फत एक सय १२ ग्राहकको १७ लाख ६० हजार रकम सङ्कलन भएकामा ६१ जनाको पुनः लाइन जोडी ९ लाख १२ हजार आठ सय वक्यौता पनि असुली भएको थियो ।
त्यस्तै एक सय ६३ जनाको ११ लाख ८७ हजार चार सय ६० वक्यौता असुली भएकामा २१ जनको पुनः लाइन जोडेर ८ लाख ७४ ६० वक्यौता असुली भएको वितरण केन्द्रले जनाएको छ । मध्यरातिसम्म अनलाइन भुक्तानी हुने भएकाले सो रकम बुझाउनेको सङ्ख्या अझ बढ्ने वितरण केन्द्रका लेखा प्रमुख बुद्धीसागर भुषालले जानकारी दिए ।
प्राधिकरणले थालेको अभियान तथा जनचेतनाका कारण नेपालगञ्ज वितरण केन्द्रमा हुने नियमित सरदर सङ्कलनको दोब्बर रकम सङ्कलन भएको बताइएको छ । त्यस्तै कोहलपुर वितरण केन्द्रले उक्त क्षेत्रबाट १२ लाख ३१ हजार ५०६ वक्यौता रहँदा एक सय चार जनाको लाइन काटिएकोे जनाएको छ । विद्युत् महसुल भुक्तानी गर्न ६० दिन नाघेका ग्राहकलाई सार्वजनिक सूचनामार्फत अविलम्ब भुक्तानीको लागि आग्रह गरेपछि प्राधिकरणले बक्यौता महसुल असुलीमा कडाइ गर्न थालेको थियो ।