२०८३ साउन १७ आइतबार

सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि सर्वसाधारणमा प्रिमियम मूल्य सहित आईपीओ जारी गर्ने

ई आर्थिक    बुधबार, भाद्र ६ २०८०
6.2K
Shares
सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि सर्वसाधारणमा प्रिमियम मूल्य सहित आईपीओ जारी गर्ने

ई–आर्थिक, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको थियो ।

१ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले कर्मचारीमा प्रतिशेयर १०० रूपैयाँमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ विक्री गरेको छ । बाँकी १ करोड ६ लाख ८७ हजार ५०० कित्ता आईपीओमध्ये ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताहरूमा जारी भएको आईपीओ विक्री अवधि छिटोमा भदौ १९ गतेसम्म र ढिलो अवधि भदौ २९ गतेसम्मका लागि तोकिएको छ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यो कम्पनीको आईपीओ समेत छिटो अवधि भदौ १९ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

लगानीकर्ताहरूले आवेदन पेश गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । नयाँ जीवन बीमा कम्पनीको रूपमा यस कम्पनीले २०७४ साल कात्तिक २ गतेदेखि कारोबार सुरू गरेको हो । हाल कम्पनीले ४६ कार्यालय तथा ९४ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर सञ्चित नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ४३ करोड रूपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १७२ रूपैयाँ ४३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij