ई–आर्थिक, काठमाडौं । अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियल आईपीओ निष्कासन गर्ने भएको छ ।
होटेल क्राउन इम्पेरियलले १ अर्ब १५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो । जसअनुसार कम्पनीले कुल १ करोड १५ लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ ।
यसैबीच होटेल क्राउन इम्पेरियलको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र होटेल क्राउन इम्पेरियलको तर्फबाट प्रबन्ध सञ्चालक सुधिरमान मास्केले हस्ताक्षर गरेका छन ।
अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।
अर्किड होल्डिंग्सले २०७६ असार १३ गतेबाट काठमाण्डौको रविभवनमा चारतारे होटल ‘होटेल क्राउन इम्पेरियल’ सञ्चालनमा ल्याएको हो । १३१ वटा कोठा रहेको होटेलमा लाइभ म्युजिक सहितको रेस्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुईवटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ पुल, ५० देखि ७५ जनासम्मको २ वटा ठूला मिटिङ हल र २० देखि २५ जनासम्मको दुईवटा मिटिङ रुम र ३०० जनासम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधा छन् ।