ई–आर्थिक, काठमाडौं । शिव शिखर बहुउदेश्यीय सहकारीको ठूलो रकम हिनामिना गर्ने मूख्य व्यक्ति केदारनाथ शर्मा पक्राउ परेका छन् । शिव शिखर सहकारीमा बचत गरेको ठूलो रकम उनकै अगुवाईमा हिनामिना भएको थियो । उनले सो सहकारीबाट १४ अर्ब बढी रुपैयाँ ठगेको आरोप छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई भारतबाट पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार उनी मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेका थिए ।
यसअघि हिनामिनामा संलग्न गीता शर्मा र पुष्कर मल्ललाई सिआइबीले पक्राउ गरिसकेको छ । गीता र उनका श्रीमान् केदारनाथ शर्माको नेतृत्वमा सहकारीमा हिनामिना भएको प्रहरीले जनाएको छ । सिआइबीको अनुसन्धानमा मात्रै उनीहरूले मात्र १० अर्ब हिनामिना गरेको भेटिएको छ ।
भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको थियो ।
उपत्यकाका तीनै जिल्लामा सो संस्थाका शाखा छन् । उपत्यकाबाहिरको हकमा भने सम्बन्धित जिल्लाका प्रहरी कार्यालयले नै अनुसन्धान गर्ने भएकाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आह्वान गरिएको थियो । विराटनगर, पोखरा, हेटौँडा, भरतपुर, बुटवल, बाग्लुङ, कञ्चनपुर, कैलालीलगायत जिल्लामा निक्षेपकर्ताले प्रहरीमा उजुरी दिएका छन् । सञ्चालकका साथै संस्थाका कर्मचारीसमेतको मिलेमतोमा रकम हिनामिना भएको प्रहरीले जनाएको छ ।