पेचिङ (चीन) । चीनमा विद्युतीय सवारी साधन बनाउने कम्पनीहरुबीच अहिले मूल्य युद्धै छेडिएको । यसको मार कोरोनाको असरबाट चाँडै उब्रिन सक्ने कम्पनीहरुमा समेत पोखिएको छ ।
गएको महीना बीवाईडीले १८ अर्ब डलर गुमाउनुले पनि त्यहाँको अवस्थालाई छर्लङ्ग पारिदिएको छ । फेब्रुअरी १ यता वारेन बफेटले समेत लगानी गरेको सो कम्पनीको शेयर मूल्य न्यूयोर्कमा १४ प्रतिशतले घटेको छ । यो प्रतिस्पर्धी कम्पनी टेस्लाको भन्दा निकै कमजोर प्रर्दशन हो । सो अवधिमा टेस्लाको शेयर मूल्य ९ प्रतिशतले बढेको थियो ।
बहुराष्ट्रिय अटो कम्पनीहरुको शेयर मूल्य सूचक सोही अवधिमा ९ प्रतिशत तल आएको थियो । केही मोडलको विक्री बढाउन कम्पनीले मूल्य कटौती गरेपछि बीवाईडीको सम्भावना के होला भनेर व्यापारीहरुमा चिन्ता बढेको छ ।
माग सुस्ताउन थालेपछि टेस्लाको कदमलाई पछ्याउँदै नियो इंक, एक्सफेङ इंकले पनि मूल्य कटौती गरे । अहिले चिनियाँ ईभी बजारमा व्यापक मूल्य कटौती भइरहेको छ । यस्तोमा थप मूल्य घट्छ कि भन्ने आशामा क्रेताहरुले खरिदारी थाँती राख्ने क्रम बढेको छ ।
यसले सबै कम्पनीहरुको मार्जिनमा झनै नकारात्मक प्रभाव परेको छ । मूल्य युद्धको लाभ कसलाई होला अनि कसलाई चाँहि घाटा होला भन्ने अड्कल बाजी गरेर लगानीकर्ताहरुले घाटा बेहोर्ने सम्भावना भएका कम्पनीको शेयर ‘डम्प’ गर्न थालेका छन् ।