ई–आर्थिक, काठमाडौं । अनियमितता गर्ने सहकारीको संख्या दैनिकरूपमा बढिरहेको गुनासो आएपछि काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको नियमितरूपमा अनुगमन गर्ने भएको छ ।
सर्वसाधारणसँग लिएको पैसा समयमै फिर्ता नगरेको उजुरी परेका सहकारीलाई ध्यानमा राखेर महानगरपालिकाको सहकारी विभागले वडागतरूपमा सहकारी संख्याका आधारमा ३२ ओटै वडामा अनुगमन गर्न लागेको हो । सर्वसाधारण ठग्ने सहकारीको संख्या धेरै रहेको उजुरी आएकाले अनुगमन गर्न लागिएको महानगरका सहकारी विभाग प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए ।
‘पहिलो चरणमा नियमबाहिर रही सञ्चालन भएका र बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेका सहकारीको अनुगमन गरिनेछ,’ उनले भने । दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरूप निर्देशन दिइने विभागका प्रमुख पोखरेलले बताए ।
अनुगमनका क्रममा दिएको निर्देशन पालना नगरे सहकारी ऐनअनुरूप कारबाहीको प्रक्रिया अघि बढाउने महानगरको तयारी छ । सबै सहकारी काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ अनुसार सञ्चालन भएका छन् ।
पछिल्लो २० दिनयता रकम ठगी गरेको भन्दै उजुरी गर्नेको संख्यामा कमी आए पनि विगतका वर्षको तुलनामा यस वर्ष अत्यधिक मात्रामा ठगीका उजुरी परेकाले महानगरले अनुगमन शुरू गर्न लागेको हो । काठमाडौं महानगरमा एक महीनाअघि दैनिक १५ ओटासम्म उजुरी आएका थिए । अहिले दैनिक तीन/चारओटा उजुरी आउने गरेको बताइएको छ । अनुगमनको काम तत्काल शुरू गर्न टोली गठनको तयारी भइरहेको छ ।
११८ सहकारीविरुद्ध उजुरी
बचतकर्ताले काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ सहकारी संस्थाविरुद्ध आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका छन् । उक्त उजुरी संख्या चालू आर्थिक वर्षको मात्र हो । गत आर्थिक वर्षमा जम्मा ६० उजुरी परेका थिए । चालू आर्थिक वर्षको ६ महीनामा अघिल्लो वर्षभरिभन्दा दोब्बर उजुरी परेको विभागका प्रमुख पोखरेलले जानकारी दिए । उनका अनुसार परेका उजुरीमध्ये सबैभन्दा बढी सहकारीको संख्या धेरै रहेका महानगरका भित्री वडाबाट आएका छन् । सबैभन्दा धेरै बचतकर्ताको रकम फिर्ता नगरेका उजुरी छन् ।
उजुरी परेका ११८ मध्ये ४७ सहकारीलाई महानगरले पटकपटक सम्पर्क गर्न खोजेको थियो । केही अझै सम्पर्कमा नआएका र आएका केहीले पनि बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै पुन: उजुरी आएपछि महानगरले प्रहरीको जिम्मा लगाएको छ । बाँकी ७१ सहकारी सञ्चालकसँग महानगरले छलफल गरी बचतकर्ताको रकम फिर्ता गराउन प्रयास गरिरहेको छ । काठमाडौं महानगरपालिकामा रहेका १ हजार ९५५ सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी छन् । रासस