ई–आर्थिक, रसुवा । राष्ट्रिय वाणिज्य बैंकले रसुवाको धुञ्चेमा शाखा सञ्चालनमा ल्याएको छ । नवनिर्वाचित प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे र बैंक सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरेले शनिवार संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरे । सो शाखाबाट बैंकले सबै किसिमका कारोबार समेत शुरू गरेको छ ।
शाखाले उत्तरी क्षेत्रका लाङटाङ, टिमुरे, थुमन, चिलिमे, हाकु, गोल्जुङ, गतलाङ, स्याफ्रुसमेतका बासिन्दालाई सेवा दिने उक्त शाखाका प्रबन्धक हेमन्त सुवेदीले जानकारी दिए । रसुवागढी नाका सञ्चालनमा आएपछि निजीक्षेत्रका अधिकांश बैंकले रसुवामा सेवा दिँदै आएका छन् । वाणिज्य बैंकले धुञ्चेमा शाखा खोलेसँगै स्थानीय बासिन्दाले सहज बैंकिङ सेवा पाउने भएका छन् ।
सो अवसरमा बैंकका सञ्चालक समिति सदस्य केदार घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, रसुवाका प्रमुख कोष नियन्त्रक हेमराज पौडेल, जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा, बैंकका बागमती प्रदेश शाखा प्रबन्धक ध्रुवप्रसाद अर्याललगायतको सहभागिता थियो ।
विपन्न, व्यापारिक, घर निर्माण समेतका विविध शीर्षकमा बैंकले रू. ५ लाखदेखि ५ करोडसम्म कर्जा प्रवाह गर्ने बताइएको छ । नेपाल राष्ट्र बैंकको नीति, नियम र मापदण्डका आधारमा सेवा प्रवाह गर्ने बैंकको भनाइ छ ।