२०८३ साउन ११ सोमबार

राष्ट्र बैंककै आडमा ‘बैंकहरू चोरी खान पल्किएको’ उद्योगी व्यवसायीको आरोप, ‘खुला अर्थनीतिका नाममा वाणिज्य बैंक ‘सामन्त’ बने’

ई आर्थिक    शुक्रबार, पौस ८ २०७९
7.1K
Shares
राष्ट्र बैंककै आडमा ‘बैंकहरू चोरी खान पल्किएको’ उद्योगी व्यवसायीको आरोप, ‘खुला अर्थनीतिका नाममा वाणिज्य बैंक ‘सामन्त’ बने’

ई–आर्थिक, विराटनगर । बैंक, वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध विराटनगरका उद्योगी व्यवसायीले संगठित भएर आन्दोलन थालेका छन् । बैंक वित्तीय संस्थाको व्याजदर घटाउनुपर्ने माग पूरा नभएको भन्दै उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंकको प्रदेश १ कार्यालय विराटनगरमा विहीवार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म धर्ना दिएका छन् । व्यवसायीले पाँच सूत्रीय माग अघि सारेका छन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ र विराट व्यापार संघको आह्वानमा भएको धर्नामा ४२ ओटा वस्तुगत संघसंस्थाको सहभागिता रहेको बताइएको छ ।

धर्ना कार्यक्रम माग पूरा नभएसम्म जारी रहने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । रिजालका अनुसार बिहान साढे ९ बजे संघबाट निस्केको विरोध र्‍याली बजार परिक्रमा गर्दै १० बजे राष्ट्र बैंकको कार्यालयअगाडि पुगेपछि धर्ना शुरू गरिएको थियो । माग पूरा नभए अझ सशक्त आन्दोलन अगाडि बढाउने उनीहरूको भनाइ छ ।

धर्ना कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष रिजालले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताए । उनले ब्याजदर एकल अंकमा ल्याउने, स्प्रेडदर २ प्रतिशत कायम गर्ने, संस्थागत निक्षेपको ब्याजदर २ प्रतिशत र चालू पूँजी कर्जा मार्गदर्शन खारेज नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले राष्ट्र बैंकले खुला अर्थनीतिका नाममा वाणिज्य बैंकलाई सामन्त बनाइरहेको आरोप लगाए । घिमिरेले राष्ट्र बैंककै आडमा ‘बैंकहरू चोरी खान पल्किएको’ टिप्पणी गरे ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले राष्ट्र बैंकको मौद्रिक नीति समीक्षामा स्प्रेडदर ४ प्रतिशत बनाउने भनिए पनि तत्काल कार्यान्वयन नगरेको भन्दै आक्रोश पोखे । मुरारकाले ब्याज घट्न नदिने ठूलो खेलाडी राष्ट्र बैंक नै भएको दाबी गरे ।

मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले चर्को ब्याजदर कायम गरेर राज्यले उद्योगी व्यवसायीको मेरूदण्ड भाँच्ने काम गरेको बताए । नाडा अटोमोबाइल्स एशोसिएशन नेपाल प्रदेश १ का सचिव मनोजविक्रम शाहले सरकार र राष्ट्र बैंकले आफूहरूलाई विस्थापित नै गर्ने नियत राखेर चर्को ब्याजदर लादेको आरोप लगाए । व्यवसायीले शुक्रवार पनि धर्ना जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij