ई–आर्थिक, काठमाडौं । बागबजारका व्यवसायी पनि महानगरले सडकमा पाकिङ गरिएका सवारी साधन हटाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
पसलमा ताला लगाएर उनीहरु सडकमा उत्रिएर काठमाडौं महानरपालिकाको विरोधमा हटाउन थालेको भन्दै स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।
काठमाडौंको बागबजारमा सडकमा नै सवारी साधनहरु पार्किङ गर्ने गरिएको छ । काठमाडौं महानगरपालिकाले विगत केही दिनदेखि सडकमा पार्किङ गरिएका सवारी साधनहरू हटाउन थालेपछि आफूहरूलाई असहज भएको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन् ।
बिहीवार व्यवसायीहरुले आ–आफ्नो व्यवसाय बन्द गरेर महानगरको कदमप्रति बिरोध जनाएका छन् । महानगरले बागबजारको सडकमा कालोपत्रे गरेको थियो । कालोपत्रे गरिसकेपछि सडकमा सवारी साधन पार्किङ गर्न महानगरले रोकेको हो ।
व्यवस्थित पार्किङको अभावमा सडकमै पार्किङ गर्ने गरिएको भन्दै व्यवसायीहरूले आफूहरूलाई जबरजस्ती गर्नुभन्दा विकल्प दिनुपर्ने बताएका छन् ।
लाखौँ रकम व्यवसायमा लगाएर जिविकोपार्जन गरिरहेको भन्दै महानगरको यस प्रकारको कदमले दैनिक जीवनयापन र व्यापार व्यवसायमा असर परेको व्यवसायीको गुनासो छ ।
आफूहरूले महानगरपालिकासँग विकल्पको माग गर्दै व्यवसायसमेत बन्द गरेर आन्दोलिन हुनुपरेको व्यवसायी राज कार्कीले बताए । उनले परिवर्तनको नाममा जनतालाई दुःख नदिन महानगरपालिकाका प्रमुखलाई आग्रह पनि गरे ।
व्यवसायी कार्कीले महानगरले आफूहरूको आवाज नसुनेको भन्दै आन्दोलन जारी रहनेसमेत बताए ।