आयुर्वेद क्षेत्रसँग सम्बन्धित सबैको ‘अधिकारका लागि एकिकृत आवाज’लाई बुलन्द पार्ने उद्देश्यसहित भर्खरैमात्र राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल स्थापना भएको छ । केन्द्रीय छाता संस्थाको अवधारणाको रुपमा स्थापना भएको यो एशोसिएसनले के कस्ता गतिविधिहरु गर्नेछ । देशभरका आयुर्वेद व्यवसायीहरुको बर्तमान अवस्था, समस्या र संभावना सहित यो क्षेत्रका तथ्य तथ्यांकहरुको बारेमा संस्थापक अध्यक्ष जगतबहादुर भट्टराईसँगै गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
जगत बहादुर भट्टराई
संस्थापक अध्यक्ष
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल
नेपाल आयुर्वेद औषधी व्यवसायी संघमा केही विचलन देखिएको जस्तै छ, खास कारण के हो ?
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ आयुर्वेद औषधी व्यवसायीहरुको एउटा संस्था हो । कुनै पनि संस्थामा विचलन देखिदैन, हुदैन र त्यस संस्थामा पनि विचलित देखिएको होइन । संस्थाका केही पधाधिकारीहरु र सदस्यहरुमा भने विचलन देखिएको छ त्यो उहाहरुको व्यक्तिगत समस्या हो जस्तो लाग्दछ ।
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ हुँदाहुँदै तपाईको नेतृत्वमा समानान्तर जस्तै देखिने राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल स्थापना गर्नुभयो नि किन ?
हामिले राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल, नेपाल भरिका आयुर्वेद क्षेत्रका साथिहरुसंग सरसल्लाह गरेर स्थापना गरेका छौ । अहिले हामिले स्थापना गरेको संस्था आायुर्वेद औषधी व्यवसायी संघ जस्तो आयुर्वेद व्यवसायीहरुको मात्र प्रतिनिधित्व गर्ने समानान्तर संस्था नभएको स्पस्ट पार्न चाहान्छु । हामीले यो संस्था स्थापना गर्नुको मुख्य कारण भनेकै ‘अधिकारका लागि एकिकृत आवाज’ बुलन्द गर्नका लागि समग्र आयुर्वेद व्यवसायी, आयुर्वेद स्वस्थ्यकर्मी, आयुर्वेद चिकित्सक, आयुर्वेद औषधी उत्पादकहरु र आम आयुर्वेद क्षेत्रलाई नै एउटै छानामुनि अटाई बिना भेदभाव, बिना राजनिति, धार्मिक, जातिय झल्कने कार्य नगरी आयुर्वेद क्षेत्रमा एकता, भातृत्व, सदभावना, सदाचार र शिष्टाचारको अभिबृद्धि गराई नेपालको आयुर्वेद चिकित्सा पद्धती, आयुर्वेद औषधी व्यवसाय, उत्पादन, योग र आयुर्वेद क्षेत्रलाई अगाडी बढाउनका लागि यो संस्थाको स्थापना गरिएको हो ।
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल स्थापनाका उद्देश्यहरु के–के छन् ?
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल स्थापनाका मुख्य उद्देश्यहरु निम्न अनुसार रहेको छ ।
–यो संस्था विशुद्ध मुनाफारहित सामाजिक संस्था हुनेछ ।
–यसले नेपालको आयुर्वेद क्षेत्रको विकासको लागि संगठित भएर कार्य गर्नेछ ।
–आयुर्वेदको माध्यमबाट रोजगारीको सृजना गरि आयुर्वेदका जनशक्तिहरुलाई विदेश पलायनबाट रोकि देशमै गरिखान सक्ने वातावरण बनाउन पहल गर्नेछ ।
–आयुर्वेदमा दक्ष जनशक्ति निर्माणका लागि सिपमुलक तालिम, रोजगारमुलक प्रशिक्षण संचालन गर्न राज्य संग पहल गर्ने छ ।
–आयुर्वेद चिकित्सा पद्दतीलाई नेपालको मुल चिकित्सा प्रणलीको रुपमा विकास गर्न राज्य संग पहल गर्ने छ ।
–आयुर्वेद औषधीको आपुर्तिमा सरलता र एकरुपता कायम गर्ने, गराउने तर्फ पहल गर्नेछ ।
–आयुर्वेद क्षेत्रको समृद्धिका लागि सरकारी गैर सरकारी संस्था, राष्ट्रिय संघ संस्थाहरुसंग सहकार्य गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकार संग सुमधुर सम्बन्ध कायम गर्ने
–विकास र समृद्धिकालागि जडीबुटी खेती गर्ने किसानहरुलाई जडिबुटी खेति गर्न प्रोत्साहन गर्ने ।
–निःशुल्क आयुर्वेद स्वास्थ्य सिबिर संचालन गरि जनसमुदायमा सेवा दिने । आयुर्वेदको विकासका लागि जनचेतनामुलक कार्य गर्ने ।
–आयुर्वेदका विकृति र विसंगतिलाई पुर्ण रुपमा बन्द गराउन अग्रज भुमिका निर्वाह गर्ने कार्यमा सहयोग गर्ने ।
–आयुर्वेद र योगलाई अनिवार्य बिषयका रुपमा शिक्षण संस्थाको पाठ्यक्रमको रुपमा राख्न राज्यसंग पहल गर्ने ।
–समग्र आयुर्वेद व्यवसायी, स्वास्थ्यकर्मी चिकित्सक, उत्पादक, आम आयुर्वेद क्षेत्रको हकहितको लागि कार्य गर्ने ।
देशभर कति आयुर्वेद व्यवसायीहरु रहेका छन् ? व्यवसायीहरुको समग्र अवस्था कस्तो छ ?
हाल देशभर औषधी व्यवसायीहरुको तथ्याङ्क हेर्ने हो भने झण्डै ३००० को हाराहारीमा रहेको पाईन्छ त्यसमध्य सकृय व्यवसायीको संख्या लगभग १३०० देखी १५०० को हाराहरिमा हुन सक्छ । आयुर्वेद औषधी व्यवसायीहरुको समग्र अवस्था कठिन नै देखिन्छ । आयुर्वेद क्षेत्रमा भएको झुठा प्रचारवाजी, अनलाईन बिज्ञापनमा सरकारको वेवास्ता र आयुर्वेदिक औषधीको व्यापार एलोपेथिक औषधी पसलले कब्जा गरेको कारण पनि आयुर्वेद व्यवसाय दिन प्रतिदिन धारासायी बन्दै गएको आभाष हुन्छ ।
एशोसिएसनमा हाल कति सदस्य समेटिसकियो ? कति सदस्य पु¥याउने लक्ष्य रहेको छ ?
हामिले हाललाई हाम्रो एशोसिएसनको बारेमा समग्र आयुर्वेद क्षेत्रलाई बुझाई रहेका छौ । देशमा आयुर्वेद क्षेत्रको ब्यापक रुपमा हाम्रो एशोसिएसनप्रति ध्यान केन्द्रित गराउने अभियानमा हामि छौ लगभग १०,००० आयुर्वेद जनशक्ति हाम्रो संस्थामा आबद्ध हुनेछन् हाल हामिले सदस्यता आवेदन फारम खुलाउने तयारीमा छौ ।
आयुर्वेद औषधीका क्षेत्रमा के कस्ता समस्या तथा चुनौतिहरु रहेका छन् ?
आयुर्वेद औषधीका क्षेत्रमा धेरै समस्या तथा चुनौतीहरु रहेका छन् । आयुर्वेद औषधी व्यवसाय दिन प्रतिदिन फस्ट्याउनुको साटो ओरालो लागेको आयुर्वेद औषधी व्यवसायीहरुले अनुभुती गरेका छन् । आयुर्वेद क्षेत्रमा भएको अतिक्रमण, सिण्डिकेट र केही व्यक्तीले यो क्षेत्रलाई मुठ्ठीमा राख्ने प्रयास गरेको कारण हाल आयुर्वेद औषधी उत्पादक कम्पनी, व्यापारी, चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई समस्या तथा चुनौतीहरु थपिएका छन् ।
आयुर्वेद औषधी व्यवसायीहरुलाई सरकारको सहयोग कस्तो रहेको छ ? यो व्यवसायीले सरकारसँग कस्तो सहयोग चाहान्छ ?
आयुर्वेद औषधी व्यवसायमा सरकारले वेवास्था गरेको अवस्था छ । हामी आयुर्वेद व्यवसायीहरु सरकारसंग सहकार्य गरी यो क्षेत्रको प्रचार–प्रसार गर्न जनचेतना तथा आयुर्वेद स्वास्थ्य सिबिरहरु संचालन गर्न चाहान्छौ जस कारण जनमानसमा आयुर्वेद चिकित्सा प्रणालीको बारेमा ज्ञान दिन चाहान्छौ, हजारौ बर्ष अगाडी अस्पतालको उत्पत्ती नभएको समयमा समेत मानिसले जडिबुटीको माध्यमबाट घरमै उपचार गरि स्वास्थ्य लाभ लिएको उदाहरण हामीसंग छ । हामी सरकारसंग समन्वय गरी जडिबुटी खेतीगर्न चाहान्छौ अरबौको जडिबुटी बाहिरबाट ल्याउन परेको अवस्था सुधार गरेर नेपालमै आम किसानहरुलाई जडिबुटी खेती गर्न प्रोत्साहान गरी आर्थिक अवस्था सुद्धिण गर्न चाहान्छौ । सरकारले आयुर्वेद औषधीको व्यवसाय संचालन गर्ने जनशक्तिहरुलाई सस्तो ब्याजदरमा बिनाधितो ऋण उपलब्ध गराए आयुर्वेद क्षेत्रले न्याय पाउने आशा गरेका छौ ।
देशभरका आयुर्वेद व्यवसायीहरुको लगानी कति रहेको छ ? यो क्षेत्रले कतिलाई रोजगारी दिएको छ ?
दशै भरमा आयुर्वेद व्यवसायीहरुले कति लगानी गरेको छ भन्ने त हामि संग एकिन डाटा छैन तर पनि झण्डै २०० को संख्यामा नेपालमा आयुर्वेद औषधी उत्पादन कम्पनीहरु छन् हजारौको संख्यामा आयुर्वेद औषधी फार्मेसीहरु छन्, सयौ संख्यामा आयुर्वेद अस्पतालहरु छन्, झण्डै १०,००० ब्यक्तित्वहरुले यस क्षेत्रबाट रोजगार प्राप्त गरेका छन् ।
आयुर्वेद व्यवसायीका सम्भावनाहरु के कस्ता रहेका छन् ?
आयुर्वेद व्यवसायबाट धेरै सम्भावनाहरु छन्, यसले नेपाली युवाहरुलाई आयुर्वेदको माध्यमबाट देशमा रोजगारीको अवसर सृजना गर्ने छ, दिर्घ रोगीहरुलाई जडिबुटी औषधीको माध्यमबाट स्वस्थ्य बनाउन सकिनेछ, निरोगी मानिसको स्वस्थ्य रक्षाका लागि पनि आयुर्वेदिक औषधी व्यवसाय अनिवार्य छ । नेपाल जडिबुटीको खानी भएको देश हो जडिबुटीको उत्पादन, प्रशोधन गरी देश बिदेशमा यो क्षेत्रको प्रवधन गरेमा देशमा आर्थिक समृद्धी आउने छ । राज्य, सरकार र आयुर्वेद क्षेत्र मिलि यो व्यवसायको माध्यमबाट देशको मुहार फेर्न सकिन्छ । अहिले अरबौ रुपैयाको जडिबुटी, औषधी बिदेशबाट निर्यात गर्नुपरेको अवस्था छ यसलाई रोक्न हामिले सहि कदम चाली स्वदेशी जडिबुटी र स्वदेशी औषधीलाई गुणस्तरीय बनाउन सकेमा व्यवसायले फड्को मार्ने छ ।
आयुर्वेद औषधी प्रति सर्वसाधारणको आकर्षण कस्तो रहेको छ ? अन्य औषधीसँग आयुर्वेद औषधीलाई कसरी तुलना गर्नुहुन्छ ?
जसले आयुर्वेद, चिकित्सक, स्वास्थ्यकर्मीहरुसंग परामर्श गरेर आयुर्वेद औषधी सेवन गर्नु हुन्छ उहाँहरु आयुर्वेद उपचार प्रति सन्तुष्ट हुनुहुन्छ आफु निको भएपछी अन्य रोगी बिरामीहरुलाई पनि आयुर्वेद अस्पताल र औषधालयमा पठाउनु हुन्छ सर्वसाधारणहरुले जस्तै आयुर्वेदको उचित उपचार लिनु भएको छ उहाँहरु अत्यन्त सकारात्मक र खुसी हुनुहुन्छ । तर अहिले आयुर्वेदको नाममा हुने ठगी र भ्रमात्मक प्रचार–प्रसारले आयुर्वेद क्षेत्रमा सर्वसाधारणका वितृष्णा पनि बढाएको छ यसलाई रोकथाम गर्न हाम्रो संस्थाले भरपुर पहल गर्नेछ । अन्य औषधी संग आयुर्वेद औषधीको तुलना गर्न सकिदैन औषधीको उत्पादन नै आयुर्वेद बाट भएकोले र औषधीको मुख्य कच्चापदार्थ नै जडिबुटी भएकोले सबैभन्दा सर्वोत्कृष्ठ औषधीनै आयुर्वेदीक औषधी हो ।
आयुर्वेद क्षेत्रमा यहाँको प्रवेश कसरी भयो ? कति बर्षदेखि यो क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ?
विगत १५ बर्ष अगाडी देखी म यस क्षेत्रमा कार्यरत छु । सुरुमा प्रवेश गर्दा हामी झोलामा औषधी बोकेर घर–घर गएर यसको प्रचार–प्रसार गरेका छौ, विभिन्न माध्यमबाट मैले आयुर्वेदको प्रचार–प्रसार गरे अहिले मैले आयुर्वेद औषधी ब्यापार गर्नुका साथै आयुर्बेद स्वास्थ्यकर्मीको नाताले रोगी बिरामीहरुलाई परामर्श दिने गरेको छु । संस्थागत रुपमा आयुर्वेद क्षेत्रमा लाग्न मलाईनेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज र आयुर्वेद औषधी व्यवसायी संघले नै संगठीत हुन सिकाएको हो मैले आयुर्वेद औषधी व्यवसायी संघको सुनसरी जिल्ला अध्यक्ष र प्रदेश नं. १ को अध्यक्षको जिम्मेवारी पुरा गरिसकेको छु र हाल राष्ट्रिय आयुर्वेद एशोसिएसनको माध्यमबाट आयुर्वेद क्षेत्रलाई एउटै छानामुनी आवद्ध गराई आयुर्वेद क्षेत्रको बिकासमा एकिकृत आवाज बुलन्द गर्ने संस्था आयुर्वेद क्षेत्रको प्यारो संस्था बनाउने अभियानमा छु ।
तपाईले सञ्चालन गर्नुभएको ‘स्वस्थ जीवन आयुर्वेदिक ओखती घर’ र ‘हिमाली आयुर्वेदिक औषधी सप्लायर्स’को बारेमा बताईदिनोसन् ?
मेरो स्वस्थ्य जिवन आयुर्वेदीक ओखती घर भन्ने एउटा सामान्य दुई–चार लाख लगानीको खुद्रा आयुर्वेदिक औषधी पसल हो जहाबाट आयुर्वेदीक औषधीहरुको सामान्य ब्यापार गर्ने गरेको छु र हिमाली आयुर्वेदिक औषधी सप्लायर्स’ भनेको आयुर्वेदीक औषधीहरुको थोक पसल हो यहाबाट अन्य आयुर्वेदिक पसलहरुमा थोक मुल्यमा आयुर्वेदिक औषधिको सप्लाई गर्ने गरिएको छ । मैले हाल यहाँबाट अयुर्वेदिक औषधीको ब्यापार गर्ने गरेको छु ।
तपाईको कम्पनीमा कति थरिका विरामीको औषधी उपलब्ध छन् ?
मेरो व्यवसायमा प्राय: सम्पुर्ण दीर्घ रोगीहरुको लागी प्रयोग हुने औषधीहरु उपलब्ध छन् । आयुर्वेद चिकित्सकहरुले सिफारिस गरेका प्रायः सबै औषधीहरु उपलब्ध गराउने मेरो लक्ष हो ।
तपाईको कम्पनीका सेवा अन्य स्थानबाट उपलब्ध छ ? अन्य स्थानमा सेवा विस्तार गर्ने सम्बन्धमा के कस्तो सोचाई राख्नु भएको छ ?
मैले अन्य स्थानमा शाखा सञ्चालन गर्ने सोच बनाएको छैन । अब देशभर रहेका आयुर्वेद जनशक्तिहरुको माध्यमबाट उहाँहरुलाई रोजगार बनाई आयुर्वेद क्षेत्रमा व्यवसाय गर्ने हाौसला, सहयोग प्रदान गर्ने मेरो सोच रहेको छ ।
आयुर्वेदको क्षेत्रमा तपाईका भावि योजना के कस्ता रहेका छन् ?
मेरो आयुर्वेद क्षेत्रमा भावि योजना भनेको सम्पुर्ण आयुर्वेद क्षेत्रका जनशक्तिहरुलाई स्वरोजगार बनाई देशमै आयुर्वेदको माध्यमाबाट आर्थिक समृधी गर्ने रहेको छ । आयुर्वेदको माध्यमबाट समाज सेवामा लाग्न सबैलाई उतसाहीत बनाउने अभियानमा लाग्ने मेरो भावी योजना रहेको छ र आयुर्वेद क्षेत्रका समस्या समाधानमा नै मेरो ध्यान केन्द्रित हुनेछ ।
अन्तमा केही भन्नु छ ?
हामी नेपालमा आयुर्वेद क्षेत्रमा रहनुहुने सम्पुर्ण जनशक्तिहरुलाई एकिकृत गर्ने अभियानमा बिना स्वार्थ लागि परेको छौँ त्यसको लागि सबै अटाउने एउटा घरको निर्माण गरेका छौ । यो घर निर्माण अभियानमा साथ सहयोग र जुन हौसलाका साथ देशैभरिबाट साथ सहयोग र सल्लाह प्रदान गनुभएको छ उहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछौँ । यस संस्थामा सम्पुर्ण आयुर्वेद क्षेत्रमा रहनुहुने साथीहरुलाई आवद्ध भई आयुर्वेद क्षेत्रको बिकासमा लाग्न आग्रह गर्दछु । हाम्रो संस्थाको तर्फबाट यो संस्थाको सम्पुर्ण परिवारलाई सहयोग रहने र आयुर्वेद क्षेत्रको विकासकालागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । नेपाल राष्ट्रिय आयुर्वेद एशोसिएसन आयुर्वेद क्षेत्रको विकासका लागि जस्तो सुकै त्याग तपस्या गर्न तयार रहेको अवगत गराउदछौँ ।