२०८३ साउन ११ सोमबार

कुर्थादेखि बिजलपुरासम्म रेल गुडाइने, बिहीबार परीक्षण गर्ने तयारी

ई आर्थिक    मंगलबार, भाद्र २१ २०७९
10.4K
Shares
कुर्थादेखि बिजलपुरासम्म रेल गुडाइने, बिहीबार परीक्षण गर्ने तयारी

काठमाडौँ : जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ ।

रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिए ।

सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र सामान्य काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको इञ्जिनीयर साहले बताए । रेल सञ्चालनको परीक्षणपश्चात् प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेलसेवा सञ्चालन गरिने उनको भनाइ छ । बिजलपुरादेखि बर्दिवाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा भने जग्गा मुआब्जा विवादले काम प्रभावित भएको छ । ‘जग्गा मुआब्जाको समस्यालगायतका कारण बिजलपुरा भङ्गहादेखि बर्दिवाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको छ’, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने, ‘कतिपय ठाउँमा व्यावहारिकरुपमा सडक देखिएको छ, तर नक्सामा सडक छैन तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन् ।’

उनका अनुसार सो क्षेत्रका कतिपय ठाउँमा ऐलानी जग्गामा दलित बस्ती रहेका र उनीहरुसँग जग्गा स्वामित्वको कुनै कागज नहुँदा पनि मुआब्जा मागेर विवाद गरिरहेका कारण रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ । आफूहरुले चाहेर पनि समस्या समाधान गर्न नसकिरहेको महाप्रबन्धक झाले बताए। उनले भने, ‘मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिवाससम्म रेल चल्न थाल्छ, मुख्यतः हामीलाई रेलमार्ग निर्माणका लागि अहिलेदेखि ठूलो समस्या यही नै हो ।’

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार सन् २०११ महिनामा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई वटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । महाप्रबन्धक झाका अनुसार नेपाललाई रेल सञ्जालमा जोड्ने सरकारको नीतिअनुरुप महोत्तरीको बर्दिबासदेखि बाराको निजगढसम्मको रेलमार्ग निर्माणका लागि माटो फिलिङको कार्य भइरहेको छ । यस्तै निजगढ–काठमाडौँ रेलसेवा सञ्चालनका लागि रेलमार्गको डीपीआर तयारी भइरहेको महाप्रबन्धक झाले जानकारी दिए ।

जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेलसेवा सञ्चालन भइरहेको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झण्डा देखाएर जयनगर–कुर्था रेल मार्गमा रेलसेवाको उद्घाटन गरेका थिए । त्यसयता रेलसेवा दैनिक दुई पटक सञ्चालन भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij