२०८३ साउन १० आइतबार

उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धकको व्यवस्थापकीय नेतृत्व सफल हुँदै, बिक्री लक्ष्यको ९१ प्रतिशत उपलब्धि हासिल

ई आर्थिक    मंगलबार, साउन ३१ २०७९
10.1K
Shares
उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धकको व्यवस्थापकीय नेतृत्व सफल हुँदै, बिक्री लक्ष्यको ९१ प्रतिशत उपलब्धि हासिल

ई–आर्थिक, काठमाडौं । लगभग बन्द हुने अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योगले आव २०७८/७९ मा बिक्री लक्ष्यको ९०.५२ प्रतिशत उपलब्धि हासिल गरेको छ । कम्पनीले आव २०७८/७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएकामा २१ लाख ७२ हजार ४१९ बोरा सिमेन्ट बिक्री गरेको जनाएको छ ।

तीन दशक पुरानो मिल, मेसिनरीको मर्मतसम्भार गरी आव २०७७/७८ को तुलनामा करिब चार लाख बोरा बढी सिमेन्ट उत्पादन गरी बिक्री गरेको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी दिनुुभयो । उहाँका अनुसार २०७९ को असार महिनामा तीन लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेकामा विद्युत् आपूर्ति अवरोध हुँदा २० दिन उत्पादन गर्न नसकेकाले ८७ हजार १३३ बोरा सिमेन्ट बिक्रीमा चित्त बुझाउनुपरेको छ ।

आव २०७८/७९ मा उद्योगले मूल्य अभिवृद्धि करबापत १८ करोड ८२ लाख ६२ हजार २२७ रुपियाँ, अन्तःशुल्कबापत दुुई करोड ३८ लाख ९६ हजार ६०९ रुपियाँ, अग्रिम करबापत एक ६० लाख २९ हजार ९७९ रुपियाँ, रोयल्टीबापत ८३ हजार ५२ हजार ५८० रुपियाँ, प्रदूषण शुल्क ५४ लाख ३२ हजार रुपियाँ, विद्युत् महसुलबापत २० करोड ७५ लाख ४० हजार ७२५ रुपियाँ गरी कुल रकम ४४ करोड ९५ लाख १४ हजार १२० रुपियाँ सङ्कलन गरी भुक्तानी गर्ने क्रममा रहेको कम्पनीले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष औसत दैनिक २४२.१६ मेट्रिक टन अर्थात् चार हजार ८४४ बोरा उत्पादन भएकामा आव २०७८/७९ मा दैनिक औसत ३६२.०७ मेट्रिक टन अर्थात् सात हजार २४२ बोरा सिमेन्ट उत्पादन भई ४९.५० प्रतिशत उत्पादन वृद्धि भएको कम्पनीले जनाएको छ ।

दैनिक आठ सय मेट्रिक टन क्लिङ्कर उत्पादन क्षमता रहेको यो उद्योगले पूर्ण क्षमता उत्पादन लिन आव २०७९र८० मा मेसिन औजार र उपकरणको मर्मतसम्भार गर्न जरुरी रहेकाले सोहीअनुसार बजेट छुट्याइएको कम्पनीले जनाएको छ ।

करिब ५६ करोड रुपियाँ थप लगानी गर्नसके प्रतिदिन एक हजार एक सय मेटिङ टन अर्थात् दैनिक २२ हजार बोरासम्म सिमेन्ट उत्पादन हुन सक्ने गरी अपग्रेडेसन गर्न सकिने विज्ञहरूको रिपोर्टबाट देखिएको छ । आव २०७७/७८ सम्म ३० प्रतिशतभन्दा कम उत्पादन रहेको स्थितिमा आव २०७८/७९ मा ३९.१९ प्रतिशत उत्पादन हुनु उपलब्धि भए पनि उद्योगलाई नाफामा लैजान कम्तीमा ५० प्रतिशतभन्दा बढी उत्पादन हुनैपर्ने तथ्याङ्कले पुष्टि गरेको कम्पनीले जनाएको छ ।

उद्योगमा महाप्रबन्धकका रुपमा गोपीकृष्ण न्यौपाने आएपछि उद्योगको सबैखाले तथ्यांकले छलाङ मार्दै आएका छन् । उहाँकै कार्यकालमा अस्तव्यस्त भएको सुधार उद्योगमा प्रशासिनिक तथा प्राविधिक पक्षका धेरै सुधारका कामहरु भएका छन् । त्यस्तै उहाँको कार्यकालमा थालनी भएका सुधारका धेरै कामहरु अगाडी बढिरहेका छन् । यसरी हेर्दा उद्योगका महाप्रबन्धक न्यौपाने नेतृत्वको व्यवस्थापन सफल हुँदै गएको विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij