२०८३ साउन ११ सोमबार

भारतको मणिपुर भिषण पहिरो : ४२ बढीको मृत्यु, दुई दर्जन बेपत्ता

ई आर्थिक    मंगलबार, असार २१ २०७९
3.7K
Shares
भारतको मणिपुर भिषण पहिरो : ४२ बढीको मृत्यु, दुई दर्जन बेपत्ता

ई–आर्थिक, काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा ठूलो पहिरो गएको कैयौं दिनपछि पनि उद्धारकर्ताले बेपत्ता २० जनाको खोजी जारी राखेका छन् ।

रेल–वे निर्माण भइरहेको एक स्थानमा गत बुधबार राति गएको पहिरोमा परेर ४२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकतर कामदार र भारतीय सेनाका स्वयंसेवक रहेका छन्। भारी वर्षा र पहिरो गइरहेकाले उद्धार कार्य कठिन भएको सरकारी अधिकारीले बताएका छन्। मनसुनका कारण भारतको उत्तरपूर्वका आसाम, मणिपुर, मेघालय र त्रिपुरा राज्यमा ठुलो बाढी आएको छ ।

सबैभन्दा बढी प्रभावित आसाममा १ सय ५० जनाको मृत्यु भइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन् ।

लगातारको वर्षाका कारण गत साता मणिपुरको नोने जिल्लामा उक्त पहिरो गएको एक सरकारी अधिकारीले भारतीय समाचार एजेन्सी एएनआईलाई बताएका छन् । उक्त पहिरोबाट १८ जनालाई जीवितै उद्धार गरिएको थियो तर घटनास्थलमा रहेका सरकारी अधिकारीले बेपत्ताहरू अब जीवित रहन सक्ने सम्भावना कम रहेको बताएका छन् ।

पहिरोले थुपारेको गेग्य्रान र चिसो माटोका कारण खोजीकार्य कठिन बनेको उनीहरूको भनाइ छ । उद्धारकर्ताले राडार प्रविधिको प्रयोग गरेर गेग्य्रानमा पुरिएकाको खोजी गरिरहेका छन् । मणिपुरको राजधानी इम्फाललाई जिरिबाम जिल्लासँग जोड्ने रेल–वे लाइन निर्माणस्थलमा उक्त पहिरो गएको थियो । आप्रवासी कामदारहरू उक्त रेल–वे निर्माणमा सहभागी रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij