२०८३ साउन ११ सोमबार

रुसमाथि प्रतिबन्धपछि किन बलियो बन्दैछ रुसी रुबल ?

ई आर्थिक    शनिबार, असार ११ २०७९
4.8K
Shares
रुसमाथि प्रतिबन्धपछि किन बलियो बन्दैछ रुसी रुबल ?

ई–आर्थिक, काठमाडौं । अमेरिकी डलरको तुलनामा रुसी रुबल बलियो बन्ने क्रम जारी छ । बुधवार रुबलको भाउ प्रतिडलर ५२ दशमलव ३ मा पुगेको थियो । डलर–रुबल विनिमय दर यो स्तरमा उक्लिएको सन् २०१५ मेयताकै पहिलो पटक हो । बिहीवार भने प्रतिडलर रुबलको भाउ ५४ दशमलव २ कायम भएको थियो ।

फेब्रुअरी अन्त्यमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि मार्चको शुरुमा रुबल अमेरिकी डलको तुलनामा कमजोर बनेको थियो । त्यसको कारण थियो– आक्रमणको विरोधमा अमेरिका र यूरोपेली संघ (ईयू) ले धमाधम प्रतिबन्ध लगाउनु । त्यतिबेला एक डलरको भाउ १३९ रुबल कायम भएको थियो । तर, हालैका महीनामा रुबलको भाउमा सुधार आइरहेको छ । यसलाई रुसले पश्चिमी प्रतिबन्धले काम नगरेको प्रमाण बताइरहेको छ ।

रुबलको भाउमा उल्लेख्य सुधार आएपछि रुसी केन्द्रीय बैंकले ब्याजदर ह्वात्तै घटाएको छ । त्यसयता त्यहाँको केन्द्रीय बैंकले तीन पटक ब्याजदर घटाएर २० प्रतिशतबाट ११ प्रतिशतमा ल्याएको छ । रुबल कमजोर बन्दा त्यहाँको केन्द्रीय बैंकले ब्याजदर साढे ९ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएकोथियो ।

रुबल बलियो बन्न थालेपछि निर्यात नै प्रभावित हुने भयमा त्यहाँको केन्द्रीय बैंकले मुद्रा कमजोर बनाउन सक्रियरूपमा उपाय अपनाइरहेको छ । युक्रेनमाथि रुसको आक्रमणपछि विश्व बजारमा कच्चा तेलको भाउ महँगिनु, रुसले पूँजी नियन्त्रण गर्नु आदि यसका केही कारण हुन् ।

किन बलियो बनिरहेको छ रुबल ?

अमेरिका र ईयूले रूसमाथि प्रतिबन्ध लगाएपछि कच्चा तेलको भाउ गत वर्षको यही समयको तुलनामा अहिले ६० प्रतिशत महँगिएको छ । अमेरिकाले रुसी तेल आयात ठप्प पारेको छ भने ईयूले कटौतीको घोषणा गरेको छ । युक्रेनमाथि आक्रमण गरेको पहिलो १०० दिनमा रुसले इन्धन बेचेर ९८ अर्ब डलर कमाएको छ । ६० अर्ब डलरको तेल ईयूलाई बेचिएको छ ।

रुसले पश्चिमी देशहरूलाई कम तेल बेचेको भए पनि समग्रमा विक्री मूल्यचाहिँ अहिलेसम्मकै उच्च भएकाले रुसको चालु खाता बचत उच्च छ । यो वर्षको पहिलो तीन महीनामा रुसको चालु बचत खाता १ खर्ब १० अर्ब डलर भएको रुसी केन्द्रीय बैंकले बताएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा साढे ३ गुणा भन्दा धेरै हो ।

प्रतिबन्धलगत्तै रुस सरकारले विदेशी मुद्रा बाहिरिने क्रम सीमित बनाउन पूँजी नियन्त्रण शुरु गरेको थियो । प्रतिबन्धकै कारण पनि रुसले पहिलेजस्तो धेरै आयात गर्न सकेन । आयातमा पनि थोरै खर्च भयो । फलतः निर्यात आम्दानी बढ्दा पूँजी बहिर्गमन कम भयो । यसले गर्दा रुबल बलियो बनेको हो ।

तर, पछिल्लो समय केन्द्रीय बैंकले रुबललाई कमजोर बनाउन पूँजी नियन्त्रण केही खुकुलो पारेको छ ।

रुसलाई स्वीफ्ट अन्तरराष्ट्रिय बैंकिङ प्रणालीबाट बहिस्कार गरिएको र विश्वभर डलर–यूरोमा कारोबार गर्न प्रतिबन्ध लगाएको अवस्थामा रुससँग आन्तरिक व्यापार गर्नेबाहेक अरु विकल्प छैन । रुसको विदेशी विनिमय सञ्चिति ६ खर्ब डलर आसपास छ । प्रतिबन्धका कारण अहिले रुसबाट विदेश पैसा पठाउन गाह्रो छ । रुबल कागजमा केही बलियो बनेको छ । तर, रुसले विदेशबाट आफ्नो अर्थतन्त्रलाई चाहिएको सामान किन्न सकेको छैन । अहिले रुस पोतेम्किन गाउँ (एउटा काल्पनिक गाउँ) बनेको छ ।

रुबल यही स्तरमा बलियो रहिरह्यो भने पनि यसले अर्थतन्त्र र रुसी जनजीवनमा विनाशकारी प्रभाव पार्नेछ । रुबल बलियो हुनुको अर्थ रुसी अर्थतन्त्र बलियो छ र यो अन्ततः प्रतिबन्धको झड्काबाट बच्छ भन्नेचाहिँ होइन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij