२०८३ साउन १० आइतबार

नौ महिनामा सात खर्ब २४ अर्ब विप्रेषण भित्रियो, यस्तो छ नेपालको बर्तमान आर्थिक स्थिति

ई आर्थिक    बिहिबार, बैशाख २९ २०७९
8.6K
Shares
नौ महिनामा सात खर्ब २४ अर्ब विप्रेषण भित्रियो, यस्तो छ नेपालको बर्तमान आर्थिक स्थिति

काठमाडौँ । पर्यटन क्षेत्रमा सुधार, आयात नियन्त्रणलगायत विभिन्न प्रयास भइरहे पनि विदेशी मुद्रा सञ्चितिमा सुधार आउन सकेको छैन । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो नौ महिना अर्थात् साउनदेखि चैतसम्मको आर्थिक परिसूचकले विदेशी मुद्रा सञ्चितिमा अझै दबाब रहेको देखिएको हो ।

पछिल्लो स्थितिमा विदेशबाट आउनेभन्दा बाहिरिने रकम बढी हुँदै जाँदा चालू खातामा थप दबाब सिर्जना भएको हो । फागुन मसान्तसम्म ११ खर्ब ७१ अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा सञ्चति रहेकामा चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपियाँमा सीमित भएको छ ।

गत असार मसान्तमा विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब थियो । नौ महिनाको अवधिमा विदेशी मुद्रा सञ्चितिमा १६.५ प्रतिशतले कमी आएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तसम्ममा ११ अर्ब ७५ करोड रहेकामा चैत मसान्तमा १८.२ प्रतिशतले खस्किएर नौ अर्ब ६१ करोडमा झरेको छ ।

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा असार मसान्तपछि चैतसम्म आइपुग्दा २.०४ प्रतिशतले अवमूल्यन भएकाले पनि डलर सञ्चितिको परिमाण बढी घटेको देखिएको हो । चैत मसान्तसम्ममा रहेको विदेशी मुद्रा सञ्चितिले ६.६ महिनाका लागि मात्र वस्तु तथा सेवा आयात धान्न सक्छ । फागुन मसान्तसम्म यो क्षमता ६.७ महिनासम्मको थियो ।

चालू खाता घाटा वृद्धि

चालू खाता घाटा पाँच खर्ब १२ अर्ब ७२ करोड रुपियाँ पुगेको छ । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा आइपुग्दा चालू खाता घाटा चार खर्ब ६२ अर्ब ४२ करोड थियो । चालू खाता घाटा एक महिनामै करिब ५० अर्बले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा दुई खर्ब १० अर्ब ५१ करोड रुपियाँ मात्र थियो ।

राष्ट्र बैङ्कका अनुसार शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई खर्ब ६८ अर्ब २६ करोड रुपियाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यो चैत मसान्तमा दुई अर्ब २५ करोड डलरले घाटामा रहेको छ ।

मूल्य वृद्धि चुलिँदै

मूल्य वृद्धिको ग्राफ पनि चैतमा बढेको देखिएको छ । राष्ट्र बैङ्कका अनुसार चैतमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७.२८ प्रतिशत पुगेको छ, जुन फागुनमा ७.१४ प्रतिशत थियो । अघिल्लो वर्षको चैतमा मुद्रास्फीति ३.१० प्रतिशत मात्र थियो । यद्यपि औसत मुद्रास्फीति भने ५.६२ प्रतिशतमै सीमित रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

चैतमा आयो ९६ अर्ब विप्रेषण

राष्ट्र बैङ्कको प्रतिवेदनअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आएको छ जब कि अघिल्लो वर्षको सोही अवधिमा १६.५ प्रतिशतले बढेको थियो । यो आर्थिक वर्षको साउनदेखि चैतसम्ममा सात खर्ब २४ अर्ब ७४ करोड रुपियाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ । चैतमा मात्रै करिब ९६ अर्ब रुपियाँ विप्रेषण आएको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई छ अर्ब पाँच करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो । यो वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्यामा उच्च वृद्धि देखिनुले भविष्यमा रेमिट्यान्स आय बढ्न सक्ने अवस्था भने देखिएको छ ।

चालू आर्थिक वर्षको चैतसम्ममा दुई लाख ५६ हजार ३१ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिएको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७४.९ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि करिब दुई गुणाले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६०.७ प्रतिशतले घटेको थियो ।

आयात–निर्यात दुवै बढ्दो

राष्ट्र बैङ्कको विवरणअनुसार नेपालको आयात र निर्यात दुवै बढेको छ । वैदेशिक व्यापारमा निर्यातको अंश अत्यन्तै न्यून रहँदै आएको छ । चैत मसान्तसम्म कुल वस्तु आयात ३२.० प्रतिशतले बढेर १४ खर्ब ६६ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो ।

यो वर्ष निर्यातको पक्षमा भने केही सुधार देखिँदै आएको छ । आव २०७८/७९ को नौ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई एक खर्ब ६० अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो । भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले वृद्धि भएको अवस्थामा चीनतर्पmको निर्यात भने २१.८ प्रतिशतले खस्केको उल्लेख छ ।

भ्रमण आयभन्दा व्यय दोब्बरभन्दा बढी

समीक्षा अवधिमा नेपालले पर्यटकीय १८ अर्ब ४७ करोड रुपियाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको भए पनि अध्ययनका लागि ठूलो परिमाणमा रकम बाहिरिएको छ । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा भ्रमण व्यय भने ४३ अर्ब ६७ करोड पुगेको छ । यसमा शिक्षातर्फ मात्रै २१ अर्ब १७ करोड रहेको देखिएको छ ।

नौ महिनामा सात खर्ब २४ अर्ब विप्रेषण भित्रियो

चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा सात खर्ब २४ अर्ब ७४ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई छ अर्ब पाँच करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भई दुई लाख ५६ हजार ३१ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७४.९ प्रतिशतले घटेको थियो।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई दुई लाख छ हजार ६२९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६०.७ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई आठ खर्ब आठ अर्ब ९२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij