ई–आर्थिक, काठमाडौं । रिभर फल्स पावर लिमिटेडको साधारण सेयर (आइपीओ) आजबाट बिक्री खुला भएको छ । धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा आउँदो जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ । त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २७ करोड ३० लाख रुपैयाँबराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। जसमध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् एक लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । आईपीओमा १० कित्तादेखि एक लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। रिभर फल्सले यसअघि आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले १०० रुपैयाँअंकित दरले जारी पुँजी ७० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने सात लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रमा लागि बिक्री खुला गरी बाँडफाँड गरेको छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस आईएस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम संकेत गर्छ ।