ई–आर्थिक, काठमाडौं । बलेफी हाइड्रोपावरको आईपीओ खरीदका लागि आवेदन दिने आज (सोमवार) अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधिसम्म मात्र आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले चैत १६ गतेदेखि सार्वजनिक सेयर निष्कासनमा ल्याएको थियो ।
आइतवारसम्म कम्पनीको आईपीओमा मागभन्दा १२ दशमलव ७६ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार आइतवार साँझ ५ः३० बजेसम्म १८ लाख ७० हजार ७०९ जनाले २ करोड १२ लाख २६ हजार ७५० कित्ताको लागि आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर रू। १०० अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ विक्री खुला गरेको हो ।
सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यी बाहेक बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्रीमा आएको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयनमा बाँडफाँट गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ गतेदेखि फागुन २६ गतेसम्म विक्री खुला गरी चैत ६ गते बाँडफाँट गरेको हो ।
स्थानीयनको कुल कित्ता शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं। २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं। ५ र ७, बलेफी गाउँपालिकाको वडा नं। १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं। ७ का बासिन्दाहरुका लागि बाँडफाँट गरिएको कम्पनीको भनाइ छ ।
उक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ ।
यो आईपीओलाई इक्रा नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षामतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको संस्थापकहरुबाट चुक्ता भएकोपूँजी ८० प्रतिशत पूँजी रू. १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रहेको छ । कम्पनीले स्थानियलाई १० प्रतिशत र सर्वसाधारणमा १० प्रतिशत आईपीओ विक्री पछि यो पूँजी रू. १ अर्ब ८२ करोड ७९ लाख ७० हजार कायम हुनेछ ।
कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव ६४ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ९ करोड ३० लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।
त्यसैगरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले चैत १ गतेदेखि ३० प्रतिशत अर्थात् १ बराबर शून्य दशमलव ३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरिसकेको छ ।
यस आधारमा माघ २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँटपछि पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर ए रेटिङ प्रदान गरेको छ ।
यस्तो रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको देखाउँछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरोशेयर सफ्टवेयर मार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।