२०८३ साउन १२ मंगलबार

ग्रीन भेन्चर्सले आजदेखि आईपीओ निष्कासन गर्ने

ई आर्थिक    मंगलबार, चैत्र ८ २०७८
2.8K
Shares
ग्रीन भेन्चर्सले आजदेखि आईपीओ निष्कासन गर्ने

ई–आर्थिक, काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आज चैत ८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकितमूल्यका ३१ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

निष्कासन गरिएको कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानीकोषहरुका लागि बाँडफाँट गरेर बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको हो ।

यो आईपीओ छिटोमा चैत ११ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा चैत २२ गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ ।
तर, यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा चैत ११ गतेसम्म मात्र यो आईपीओ विक्री खुला हुने देखिन्छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आवेदकले यो आईपीओ खरीदका लागि सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिने सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बीआईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा शेयर बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा शेयर विक्री गर्न लागेको हो । यस अघि स्थानियमा फागुन २ गतेदेखि २० गतेसम्म ३१ लाख २५ हजार कित्ता शेयर विक्री खुला गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई सम्पूर्ण कित्ता शेयर फागुन २९ गते बाँडफाँट गरेको हो ।

कम्पनीको संस्थापकहरुबाट चुक्ताभएको पूँजी रू. २ अर्ब ५० करोड रहेको छ । संस्थापकबाट ८० प्रतिशत शेयर चुक्ताभएको हो । सर्वसाधारणमा सामूहिक लगानीकोष र कर्मचारी सहित १० प्रतिशत र आयोजना प्रभावित स्थानीयमा रू. १० प्रतिशत शेयर बाँडफाँट पश्चात यो पूँजी रू. ३ अर्ब १२ करोड ५० लाख पुग्नेछ ।

यस कम्पनीले ओखलढुङ्गा जिल्लामा ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७/७८ सम्म रू. ९१ दशमलव ८६ रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनी रू. ९७ लाख ९९ हजार सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपस्किृत वित्तीय विवरण अनुसार भने कम्पनीको सञ्चित नाफा रू. ५ करोड २ लाखभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij