काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ४ लाख पुगेको छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा दोब्बर बढी हो ।
कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको सुधारका कारण कोरोना संक्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य वृद्धि भएको छ । गत वर्षको यही अवधिको तुलनामा चालू आवको फागुनसम्म लगभग दोब्बर भन्दा बढीले वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । गत वर्षको फागुनसम्म १ लाख १५ हजार ३१५ रहेको चालू आवमा ३ लाख ९३ हजार ४५७ युवाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभाग ताहचल कार्यलयका कम्प्युटर इन्जिनियर अर्जुन यादवले जानकारी दिए ।
चालू आवको पुस महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च देखिएको भए पनि कोरोना भाइरसको तेस्रो लहर सुरु भएका कारण फागुनमा भने केही घटेको देखिन्छ ।
चालू आर्थिक वर्षको साउन महिनामा २३ हजार ३७ ले विदेश जान श्रम स्वीकृति लिएकोमा यो संख्या फागुनमा ४२ हजार पुगेको छ । विगत २ वर्षदेखि न्यून रहेको वैदेशिक रोजगारीको श्रम स्वीकृति चालू आवको ८ महिनामा उच्च देखिएको हो । गत आवको पहिलो ८ महिनाको तुलनामा चालू आवको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने श्रमिकको संख्या साढे २ गुणाले बढ्नु रेमिट्यान्स वृद्धिको सकारात्मक संकेत हो ।
कोरोना संक्रमणअघिको सामान्य अवस्थामा मासिक रुपमा ४० हजार युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए । चालू आवको फागुनमा समेत वैदेशिक रोजगारीमा जानेको संख्या विगतको सामान्य अवस्थामा भन्दा बढी पुगेको छ । काठमाडौंसहित देशभरका ७ श्रम कार्यालयबाट श्रम स्वीकृति लिने व्यवस्था गरेका कारण श्रमिकलाई सेवा लिन सहज समेत भएको समाचार आजको कारोबारले लेखेको छ ।