ई–आर्थिक, काठमाडौं । सरकारले पशुपतिनाथमा भएको ११ केजी सुन प्रकरणको छानबिनमा नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीको प्रभाब देखिएको महसुस गरेको छ । यस प्रकरणमा छानबिन गरिरहेका अनुसन्धान अधिकारीहरुलाई एमाले र ओलीनिकट केही ब्यक्ति तथा ब्यापारीहरुले प्रलोभन तथा मनोबैज्ञानिक दबाब दिन थालेपछि सरकारले यस्तो महसुस गरेको हो । यसै कारण सो घोटाला प्रकरणको छानबिन गम्भीररुपले प्रभाबित हुन सक्ने संकेत देखा परेको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीको भनाई छ । ‘शंकास्पदढंगले केही ब्यक्तिहरुको चलखेल भइरहेको छ । उनीहरुले छानबिनको निस्कर्षका बारेमा बिभिन्न च्यानल प्रयोग गरेर कुरा गरिरहेको बुझिन्छ ।’ ती अधिकारी भन्छन् ‘यस प्रकरणमा भ्रष्टाचार भएको छैन भनेर क्लिन चिटको लागि प्रयत्न गरिदै छ ।’
मुलुकको ठूला राजनीतिक शक्तिहरु र प्रभाबशाली नेताहरुनिकट ब्यक्तिहरुको चलखेल हुदा छानबिन सजिलै प्रभाबित हुन सक्ने उनको भनाई छ । ‘अनुसन्धानमा संलग्न अधिकारीहरुमा पनि लोभ, डर, त्रास सबै हुन्छ । राजनीतिक अस्थिरताको बेला को, कतिबेला सत्तामा पुग्छ भन्ने निश्चित हुदैन । सत्तामा पुगेको पार्टी र त्यसका प्रभाबशाली नेताहरुले प्रतिशोध राखे भने सरुवा, बढुवाजस्ता बृत्ति बिकासमा नै असर गर्छ ।’ उनी भन्छन् ‘त्यसैले बलियो दबाब आउँदा अनुसन्धान अधिकारीहरु पनि आफूलाई ‘सेभ साइड’ मा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन खोज्छन् । जसले सत्य, तथ्य लुक्न सक्छ ।’
बर्तमान अख्तियारको नेत्तृत्वमा एमालेका बफादार र निष्ठावान कर्मचारी प्रेम राई भएकाले पनि जनमानसमा कतै यो प्रकरण त्यतिकै सकिने त होइन भनेर आशंका गरिएको छ । प्रेम राईलाई प्रमुख आयुक्त बनाउनैका लागि तत्कालीन प्रधानमन्त्री ओलीले संसद बिघटनसम्मका कदम चालेको कुरालाई यतिबेला स्मरण गर्न थालिएको छ । त्यसैले यो प्रकरणमा ओली र एमालेको असहयोग भएमा छानबिन सजिलै प्रभाबित हुने अधिकारीहरुको भनाई छ ।
घटना के हो ?
०७७ पुस ५ गते संसद बिघटन गरेर निर्बाचनको घोषणा गरेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजाबादी र हिन्दुबादी शक्तिको सहानुभूति लिने प्रयास गर्दै थिए । यो उनलाई किन जरुरी थियो भने आफ्नो पार्टीको अन्तरकलहले निर्बाचनमा एमालेले ठूलो नोक्सानी ब्यहोर्नु पर्ने प्रष्ट संकेत देखिएको थियो । यति मात्र होइन, उनको पार्टी कुनै पनि बेला बिभाजन हुने अबस्थामा थियो । पार्टी बिभाजन भएमा हुने सक्ने नोक्सानीलाई उनी राजाबादी र हिन्दुबादी शक्तिहरुबाट पुर्ताल गर्ने योजनामा थिए ।
मुलुकमा राजाबादीहरु र हिन्दुबादीहरुको संख्या ठूलो भए पनि तिनीहरु असंगठित अबस्थमा रहेकाले त्यो शक्तिको सहानुभूती खिच्न सके फेरि पनि एमालेको प्रभाबशाली बर्चश्व रहने ओलीले राम्रोसँग बुझेका थिए ।
राजाबादी र हिन्दुबादी शक्तिलाई जोड्ने सेतु पशुपतिनाथ सबभन्दा उत्तम बिकल्प भएको उनलाई केही मारबाडी समुदायका ब्यापारीले सुझाब दिए । प्रधानमन्त्री ओली ब्यापारी पृष्ठभूमी बोकेका धनाढ्य मारबाडी समुदायसँग अति नै निकट सम्बन्ध राख्ने शासकमा पर्छन । मारबाडी समुदायसँग राम्रो पहुँच बिस्तार गर्न नै उनले मोती दुगढलाई आफ्नो आर्थिक सल्लाहाकार नियुक्ती गरेका थिए । दुगढ ओलीको आर्थिक सल्लाहाकार भएपछि बालुवाटार सबै खाले ब्यापारीहरुका लागि खुला भयो ।
प्रधानमन्त्री ओली रुचीपूर्बक यस्ता ब्यबसायीहरुसँग समय बिताउँथे । यस्तैमध्येका एक ब्यबसायीले ओलीलाई पशुपतिनाथमा जाँदा राजनीतिक र आध्यात्मिक फाइदा हुने सुझाब दिएपछि ओलीले यसलाई भित्रैदेखि स्वीकार गरे । यति मात्र होइन, ब्यबसायीहरु र प्रधानमन्त्री ओलीले पशुपतिनाथमा चाँदीको जलहरि हटाएर सुनको जलहरि चढाउने योजना पनि बनाए । यस कार्यले ओलीप्रति हिन्दुबादी र राजाबादीहरु चरम अनुगृहित हुने र ह्वात्तै बिस्वास जगाउने बिश्लेषण गरियो । यही योजनाअनुसार प्रधानमन्त्री ओली २०७७ माघमा अचानक पशुपतिनाथको दर्शन गर्न पुगे । पूर्बयोजनाअनुसार उनले पशुपतिनाथको मूल मन्दिरमा चाँदीको जहहरि हटाएर सुनको जलहरी राख्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले यसबारेमा छलफल गर्न तत्कालै पशुपति बिकास कोषका पदाधिकारीहरुलाई प्रधानमन्त्री निबासमा आउन भने । भोलीपल्ट नै कोषका निश्चित पदाधिकारी बालुवाटार पुगे । त्यहाँ योजनाकार ब्यापारी हुने नै भए । त्यसैअनुसार कोषले १०८ केजी सुनको जलहरी राख्ने प्रक्रिया अगाडि बढाएको थियो ।
जलहरी बनाउन कोषले राष्ट्र बैङ्कबाट १०३ किलो सुन खरिद ग¥यो । २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउन त्यसमा ३ प्रतिशत तामा र १ प्रतिशत चाँदी मिसाएको कोषको अभिलेखमा उल्लेख छ । त्यो सहित २२ क्यारेटको १०८ केजी सुनको जलहरी तयार पारियो । त्यसपछि पुरानो चाँदीको जलहरी हटाएर तयार गरिएको सुनको नयाँ जलहरी २०७७ फागुन १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेर राखियो ।
यो उद्घाटन कार्यक्रम कोषका अन्य सदस्यलाई जानकारी नदिई एकै दिनमा गरियो । १०८ केजीको जहहरि लगाइयो भनेर प्रचार गरिए पनि कोषको रेकर्डमा भने जलहरी बनाएको सुनको परिमाण ९६ केजी ८२२ ग्राम भएको मुचुल्का उठाइएको थियो । यसले कोषमा भाँडभैलो मच्चियो । कोषका निश्चित पदाधिकारीहरुले जलहरी बनाउँदा बालुवाटारबाहेका कोषकै अन्य सदस्यलाई कुनै जानकारी दिएका थिएनन् ।
कोषकै सदस्यहरुलाई अत्यन्तै गुपचुप राखेपछि गम्भीर आशंका भइरहेका बेला मुचुल्का अनुसार ११ केजी सुन गायब भएको तथ्य बाहिरियो । यसपछि ११ किलो सुन गोलमाल भएको भन्दै अख्तियारमा उजुरी प¥यो । २०७८ असार २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीमा जलहरी बनाउँदा ९७ किलो मात्र सुन खपत भएको निर्माण सम्पन्न मुचुल्कामा उल्लेख गरिए पनि राष्ट्रपतिद्वारा गरिएको उद्घाटन कार्यक्रममा १०८ किलो सुन लागेको भनेर सार्वजनिक गरिएको तथ्यलाई किटान गरिएको छ । यसलाई अहिले अख्तियारले छानबिन गरिरहेको छ ।
ओली र एमालेमाथि गम्भीर प्रश्न
तत्कालीन प्रधानमन्त्री ओलीकै दिनहुँको निर्दशनमा एक महिनाभित्र तयार पारेर लगाइएको जलहरिमा ११ केजी सुन गायब भएको तथ्यले ओली र उनको एमालेमाथि गम्भीर प्रश्न उठको छ । जलहरी निर्माणमा तत्कालीन कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको अत्यन्तै अस्वभाबिक सक्रियता र शंकास्पद गतिबिधि थियो । थापा प्रधानमन्त्री ओलीका अति नै निकट ब्यबसायी हुन । यति मात्र होइन उनी नेकपा एमालेका जिम्मेवार र बिस्वासिला कार्यकर्ता पनि हुन । एमालेको उद्योग ब्यबसायीहरुको संगठनमा थापा केन्द्रीय तहका नेता हुन ।
कोषाध्यक्ष थापाकै योजनामा कोषका सदस्यहरुलाई जलहरी निर्माणबारे गुपचुप राखिएको थियो । ओलीकै निर्देशन, ओलीकै योजना, ओलीकै सक्रियता र ओलीकै कार्यकर्ताले निर्माण गरी लगाएको जलहरीमा ठूलो घोटाला हुदा उनी र एमालेमाथि गम्भीर प्रश्न उठाइएको छ । अहिले थापा सदस्य सचिब भएका छन् । उनमाथि अख्तियारले बयान सुरु गरेको छ । पशुपतिनाथ र जलहरी प्रकरणलाई उपयोग गर्दै प्रतिपक्ष दल र ओलीसँग सम्बन्ध बिस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले थापालाई सदस्य सचिब बनाएको बताइन्छ ।
पशुपति नाथमा भएको यत्रो भ्रष्टाचार प्रकरणमा ओली र नेकपा एमालेले अहिलेसम्म एक शब्द नबोल्नुले पनि घटनालाई थप रहस्यमय बनाएको छ । अहिले एमालेले गैरराजनीतिक मुद्धामा संसद अबरोध गरेको एक हप्ता हुन लागेको छ । तर यत्रो भ्रष्टाचार प्रकरणमा भने एमालेका साँसदहरुले रहस्यमय मौनता साँधेका छन् ।