काठमाडौँ : बहराइनको प्रमुख तेल–ग्यास प्रशोधन आयोजनामा सयौं नेपालीसहित विदेशी श्रमिक सुरक्षाको उचित प्रबन्धको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
बहराइन पेट्रोलियम कम्पनी (बाप्को) अन्तर्गतको प्रशोधन केन्द्रमा मंगलबार एक श्रमिकले समयमा उपचार नपाउँदा ज्यान गुमाएपछि उनीहरूले आन्दोलन थालेका हुन् । उक्त प्रशोधन केन्द्रमा नासिर सिड अल हाजरी कर्पोरेसनअन्तर्गत ७ सय नेपालीसहित झन्डै ६ हजार श्रमिक कार्यरत छन् ।
प्रशोधन केन्द्रमा मंगलबार मध्याह्न खाना खाइरहेका बेला एक श्रमिक अचानक ढलेपछि अरूले तुरुन्तै अस्पताल लैजान माग गरेका थिए । अस्पताल तत्काल नलगिँदा ती श्रमिकको मृत्यु भएको थियो । उनी कुन देशका हुन् भन्ने खुलाइएको छैन ।
‘हामी कामबाट फर्कंदा साथीहरू हाँस्दै मेसमा खाना खाइरहेका थिए । अचानक एक जना साथी ढले,’ संखुवासभा घर भएका पासाङ शेर्पाले भने, ‘उनले समयमा उपचार पाएनन् ।’ साथीको मृत्यु भएपछि कम्पनीमा रहेका सबै कामदार आन्दोलनमा उत्रिएको उनले बताए । उनले घामको रापमा काम गर्नुपर्ने, श्रमिकले खाना खाने ठाउँ पनि हपहपी गर्मी हुने खालकै रहेको सुनाए । ‘भोलि हाम्रो हालत पनि यस्तै हुन्छ भन्ने भयो, स्वस्फूर्त आन्दोलनमा उत्रियौं,’ उनले भने ।
बहराइनको कानुनअनुसार रोजगारदाताले तलब/भत्ता दिने भए पनि खाना, आवास र कार्यस्थलको सुरक्षालगायत मापदण्ड पालना भए/नभएको सुनिश्चित गर्ने जिम्मेवारी त्यहाँको सरकारको हो । तर पछिल्लो घटनाले बहराइन सरकारले ठूला कम्पनीको अनुगमनमा लापरबाही भएको देखाउँछ । कामदारको भनाइमा पछिल्लो एक महिनामा मात्रै कार्यस्थल र क्याम्पमा गरी कम्पनीका १८ जनाको मृत्यु भइसकेको छ । कम्पनीले श्रमिक राख्ने ‘नोडाक्याम्प’ प्लान्टको बीचमा रहेकाले श्रमिकको स्वास्थ्य जोखिममा छ ।
‘मान्छे मरेको थाहै नै हुन्न । राति ग्यास र तेलको चर्को गन्ध आउँछ । टाउको त्यत्तिकै दुख्छ । ग्यासको चुहावट भइरहन्छ,’ गोरखा घर भएका सञ्जीव बरालले टेलिफोनमा भने । उनले श्रमिकको खाना र बस्ने व्यवस्था अत्यन्त खराब रहेको जानकारी दिए । सिन्धुलीका प्रदिप थारूले आफूहरू स्वदेश फर्कन चाहेका बताएबताएको समाचार होम कार्कीले आजको कान्तिपुरमा लेखेका छन् ।