ई–आर्थिक, काठमाडौं । नेपालको जीवन बीमा व्यवसायमा अग्रणी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकर लि. को ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने गरी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ ।
काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले सो समझदारी पत्रमा हस्ताक्षर गर्नु भयो । नेपाल लाइफले उक्त शेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पूँजी रु. ३० करोड हुनेछ ।
कार्यक्रममा दुबै कम्पनीका संचालक समितिका अध्यक्षहरु र सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक श्री अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी इन्भेष्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

नेशनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत नबिन बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर एउटा भरोसापूर्ण एवं बलिया बैंकर कम्पनीको रुपमा काम गर्दै जाने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा सवैको विश्वास जितेर उत्कृष्ठ ब्राण्ड रहन सफल भएको बताउँदै अब नेशनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पूँजीबजारमा सफल कम्पनीको रुपमा स्थापित गरिने बताउँनु भयो ।