ई–आर्थिक, काठमाडौं । बेष्ट फाईनान्स कम्पनी लिमिटेडले काठमाडौं महानगरपालिका २२मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाईनान्सले काठमाडौंको सोही वडाको न्युरोड, पिपलवोटमा रहेको रमा गृहभवनमा बुधबार उक्त शाखा स्थानान्तरण गरी कार्यालय संचालन गरेको हो ।
उक्त नयाँ शाखा कार्यालयको उदघाटन संस्थाका सञ्चालक समितिका महिला सञ्चालक श्रीमती सुशिला खनाल तथा नेपाल सुन चाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीका साथै न्युरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एवं स्थानीय जनप्रतिनीधिको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपालको ४ वटा पुरानो फाईनान्स कम्पनीहरु मर्ज भई बनेको यस वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा दिँदै आएको छ । संस्थाको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा रहेको छ ।
संस्थाबाट हाल डिजिटल बैकिङ्ग सेवालगायत नेपाल राष्ट्र बैंकको नीति बमोजिम विभिन्न बचत योजना सहित सहुलियत कर्जाहरु समेत प्रदान गर्दै आएको फाइनान्सले जानकारी दिएको छ ।