ई–आर्थिक, काठमाडौं । विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटियुी) समन्वय समिति ,नेपालबाट आयाेजित “आप्रवासी नेपाली श्रमिकहरुका सवालहरु ” विषयक भर्चुअल सेमीनारमा बक्ताहरुले वैदेशिक राेजगारीले नवदाशता श्रृजना गर्ने र दलाल पुंजीवादलाई प्राेत्साहन गरिरहेकाे वताएका छन।
भर्चुअल सेमीनारमा कार्यपत्र प्रस्तुत गर्दै निड्स नेपालका चिरञ्जीवी वरालले नेपालबाट वैदेशिक राेजगारीमा भारत बाहेक तेस्रो मुलुकमा सरकारी तथ्यांकअनुसार गत वर्ष सम्मनमा झन्डै ४८ लाख युवा युवती गएको र यश मध्ये २ लाख ३६ हजार महिला रहेको उल्लेख गरिएको छ। अवैध तवरले जानेकाे संख्या पनि हजारौं हुन सक्ने , वैदेशिक राेजगारीमा गएका मध्ये १.५ प्रतिशत मात्रै दक्ष, २४ प्रतिशत अर्ध दक्ष र ७४.५ प्रतिशत अदक्ष श्रमिक रहेको वताइएकाे छ ।
श्रम गन्तव्य मुलुकमा यिनै अदक्ष श्रमिकले जाेखिमपुर्ण काम, न्युन सुविधा , विमा, स्वास्थ्य उपचार र सामाजिक सुरक्षा विहिन सुविधामा काम गर्न परेकाे र यस्तै श्रमिकहरुकाे वर्षेनी ज्यान जाने गरेको उल्लेख गरिएको छ। काेभीड महामारीकाे वेलामा सहज ढंगबाट स्वदेश फर्कन नपाएको , आउने हरुले पनि महंगाे हवाई जहाज भाडा भुक्तानी गर्न परेको र गन्तव्य मुलुकका राेजगार दाताले काेराेना महामारीको निहुँ पारेर पाउनुपर्ने थप अन्य सुविधा नदिएको, विदेश स्थित नेपाली कुटनैतिक नियाेगहरुबाट पनि यस्तो अप्ठ्यारोमा परेका श्रमिकहरुलाई भुक्तानी र क्षतिपूर्ति दिलाउन प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको र झन्डै १४ प्रतिशत मतदाताकाे रुपमा रहेका आप्रवासी श्रमिकहरुलाई मतदान गर्ने अधिकार बाट बंचित गरिएकाे कार्यपत्रमा उल्लेख गरिएको छ।
सेमिनारमा राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष डाक्टर पुष्प कंडेलले देश भित्र नै क्रमशः राेजगारीका अवसर श्रृजना गर्दै जाने पन्ध्रौं पंच वर्षिय याेजनाले लक्ष्य लिएको वताउदै रेमिटान्स बाट प्राप्त रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने कार्य चुनौतीपूर्ण रहेको उल्लेख गरिएकाे छ।
नेपाल राष्ट्र बैकका पुर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले वैदेशिक राेजगारीमा जाने श्रमिकलाई वित्तीय साक्षरता देखिन फिरेर आए पछि पेशा व्यबसाय संचालन गर्न तालिम र ब्यबसायिक परियोजना तयारी देखिन सरल ढंगबाट वित्तीय सहयोग प्रदानगर्न पर्ने, रेमिट्यान्स लाई बैकिङ्ग प्रणालीमार्फत भित्र्याउन , हुण्डी काराेवारलाई निषेध गर्न माेवाईल बैकिङ्ग संगै डिजिटल इकाेनाेमीमा जानू पर्ने उल्लेख गरिएको छ।
कार्यक्रममा संयुक्त राष्ट्र संघ, आप्रवासन क्षेत्रमा हाल लिवियामा कार्यरत डाक्टर मिना पौडेलले नेपालमा युगान्तकारी परिवर्तन पछि स्वाधीन , आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर समाजवादकाे आधार निर्माण गर्ने कार्य दिशा अनुरुप नीति र संरचना बन्न नसकेको वताउन भयाे। सामन्ती युगकाे बधुंवा र कमैया झै वैदेशिक राेजगारीले श्रमिक कामदारहरुलाई वेचिने जस्तै गरि नव दाशता जन्माएको , वैदेशिक राेजगारी क्षेत्रमा संलग्न व्यबसायीले राजनीति र कर्मचारीतन्त्रलाई पकडमा लिएको स्थिति प्रति चिन्ता प्रकट गरिएकाे छ।
वैदेशिक राेजगार क्षेत्रका अधिकारकर्मी तथा अधिबक्ता साेम लुइँटेलले काेराेना महामारीकाे वेलामा विदेशमा दुःख पाई रहेका श्रमिकहरुलाई उद्वार गरि स्वदेश फिर्ता ल्याउने कार्य हुन नसकेको ,वैदेशिक राेजगारीबाट फिरेका श्रमिकहरुकाे लागि पुनः एकीकरण र दिगो राेजगारीका लागि ठाेस नीति कार्यक्रम संचालन हुन नसकेको , उनीहरूले क्षतिपूर्ति पाउन नसकेको र न्यायमा पहुँच स्थापित हुन नसकेको ओैल्याएका छन।
पत्रकार हाेम कार्कीले श्रम कुटनीति प्रभावकारी नभएको , बैदेशिक राेजगारीमा जाने श्रमिकहरुले महंगो लागत शुल्क भुक्तानी गर्नु परेको ,
न्युनतम श्रम मापदण्डकाे सुविधा अनुरुप काम अनुसार तलव र वीमा सुविधा पाउन नसकेकाे, आफ्नो इच्छा अनुसार अन्य राेजगारी गर्न नपाएको उल्लेख गरेका छन।
वैदेशिक राेजगार विभागका महानिर्देशक कृष्ण दवाडीले वैदेशिक राेजगार व्यापार जस्तै भएको छ यसलाई प्रभावकारी नियमन नगर्दा तस्करी बढेर गएको छ, र श्रम गन्तव्य मुलुककाे कार्यस्थलमा न्युनतम श्रम मापदण्ड र व्यबसाय जन्य स्वास्थ्य र सुरक्षाकाे सुनिश्चितताकाे विषयमा विशेष ध्यान दिन पर्ने वताएका छन।
भर्चुअल सेमिनारमा अन्तर्राष्ट्रिय प्रवाशी संगठनका ठाकुर खनालले वैदेशिक राेजगारीमा जाने श्रमिकहरु राेजगार दाताबाट ठगिएको , अतिरिक्त कामकाे रकम पाउने नगरेको ,याैन हिंसाकाे शिकार हुने गरेको , श्रम संझौता अनुसारको काम नपाएको , भारतमा काम गर्ने नेपाली श्रमिकले बैकिङ्ग काराेवार गर्न नपाएको , वैदेशिक राेजगारीमा गएकाहरुलाई विदेशबाट नै मतदान गर्न पाउने अधिकारका वारेमा नेपाल सरकारले वेवास्ता गरेकोे उल्लेख गरेका छन।
सेमीनारमा विश्व ट्रेड युनियन महासंघका महासचिव जर्ज म्याभ्रीकाेसले पठाएको शुभकामना सन्देश संगै डब्लूएफटियुमा आबद्ध पेशागत महासंघ नेपालका अध्यक्ष विश्व नाथ प्याकुरेल , नेपाल राष्ट्रिय कर्मचारी महासंघका सह संयाेजक मणि श्रेष्ठ , अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष लाेकराज भुषाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष चिरागमान सिंह कुवर, क्रान्तिकारी ट्रेड युनियन महासंघका राजन तिमिल्सिना , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना , नेपाल ट्रेड युनियन फेडरेसनका महासचिव कृष्ण थापा , ट्रेड युनियन इन्टरनेशनल, पब्लिक सर्भिस एण्ड एलाइडका उपाध्यक्ष भाेला नाथ पाेख्रेल, टियुआई विफुका उप महासचिव ताराखर अधिकारी , विश्व शिक्षक महासंघका सचिवालय सदस्य रामकुमार वान्तवा आदि बक्ताले वैदेशिक राेजगार क्षेत्रमा गएका श्रमिकहरुकाे समस्या बारे सरकारले ध्यान दिन पर्ने र देश भित्रै राेजगारी श्रृजना गर्न माग गरेका छन।
डब्लुएफटियु नेपाल समन्वय समितिका सहसंयाेजक माेहनमान स्वांरले संचालन गरेको सेमिनार कार्यक्रममा डब्लुएफटियु प्रेसिडेन्सियल काउन्सिल सदस्य तथा नेपाल संयाेजक प्रेमलकुमार खनालकाे अध्यक्षतामा भएको उक्त सेमीनारबाट सरकारले समाजवाद उन्मुख आर्थिक नीति तर्जुमा गरेर देश भित्रै फलदायी राेजगारी श्रृजना गर्नुपर्ने , वैदेशिक राेजगारीमा जानू पुर्व नै गन्तव्य देशका मुलुकमा अन्तर्राष्ट्रिय श्रम मापदण्ड लागू हुने सुनिश्चित गरिनु पर्ने र राेजगारदातालाई नै जवाफदेही बनाउने गरि संझौता हुन पर्ने, वैदेशिक राेजगारीमा गई शाेषणमा परेका र क्षतिपूर्ति पाउन नसकेका श्रमिककाे लागि न्याय दिलाउन सरकार र कुटनैतिक नियाेगहरुकाे पर्याप्त एव सक्षम श्राेत साधन सहित भुमिका प्रभावकारी हुनु पर्ने, देश भित्र सबै श्रम गर्ने श्रमशक्तीलाई हरेक निर्वाचन क्षेत्र स्तरमा नै शीपयुक्त तालिम प्रदान गर्ने सरकारी संयन्त्र स्थापना गर्नु पर्ने, श्रम क्षेत्रमा सुशासन कायम गर्न श्रम प्रशासनलाई संघ, प्रदेश र स्थानीय तह सम्म विस्तार गर्नुपर्ने, भारत लगायत तेस्रो मुलुकमा वैदेशिक राेजगारीमा गएकाे तथ्य तथ्यांक अपडेट गरेर सुचना बैक स्थापना गर्नुपर्ने , बैदेशीक राेजगारीबाट फिरेका घर परिवारकाे जिवनस्तरकाे स्थिति वारे गहिरो अध्ययन अनुसन्धान गरि तथ्यांक दुरुस्त बनाउन पर्ने निष्कर्ष निकालिएको छ ।
यस्तै रेमिट्यान्स रकमलाई बैकिङ्ग काराेबार बाट भित्र्याउने ,हुण्डी काराेबारलाई प्रतिबन्ध लगाउने , रेमिट्यान्स रकमलाई उत्पादन शील क्षेत्रमा लगानी गर्ने र वैदेशिक राेजगारीबाट फिरेका श्रमिकहरुकाे ज्ञान सीप र अनुभवलाई उध्यमशीलतामा रुपान्तरण गर्न सरल र सहज ढंगले सीप र पुंजी उपलब्ध गराउन पर्ने , बैदेशीक राेजगारीमा गएका श्रमिकहरुकाे हक हितका लागि अन्तर्राष्ट्रिय स्तरका श्रमिक संगठनबाट सम्बन्धित गन्तव्य मुलुकका सरकार र राेजगारदाताहरुलाई दबाब दिन हेल्प डेस्क स्थापना संगै समस्या समाधानका लागि लविङ्ग, सहयाेग र ऐक्यबद्धताका लागि विश्वव्यापी अभियान संचालन गर्नुपर्ने र काेराेना महामारीको बखत विदेशमा दुःख पाई रहेका श्रमिकहरुकाे सरल ढंगबाट उद्वार,राहत र पुनःस्थापनका लागि तत्काल ध्यान दिन सबै ट्रेड युनियनहरुबाट सरकारकाे ध्यानाकर्षण गराउन पर्ने निष्कर्ष निकालिएको छ।