२०८३ साउन ११ सोमबार

बजेटमा सुरुङमार्ग : सर्वसाधारणमा तरङ्ग

ई आर्थिक    बिहिबार, असार ३ २०७८
6.1K
Shares
बजेटमा सुरुङमार्ग : सर्वसाधारणमा तरङ्ग

बलेवा : गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो । मध्यपहाडी लोकमार्गमा सुरुङमार्ग, अर्नाकोट विमानस्थल र धौलागिरि अस्पताललाई ट्रमा सेन्टरमा स्तरवृद्धि गर्ने योजना बजेटमा परे ।

सुरुङ र विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्र्तगत काठेखोला गाउँपालिकाको बिहुँको अक्षेतेदेखि गलकोट नगरपालिकाको नरेठाँटी वा हटिया जोड्ने गरी सुरुङमार्ग बनाउन अध्ययन गर्न बजेट विनियोजन भएको छ । लोकमार्गअन्तर्गत गण्डकी प्रदेशमा पर्ने यो दोस्रो सुरुङमार्ग हो । कास्कीको फेदीदेखि पर्वतको नयाँपुलसम्म सुरुङमार्ग निर्माणका लागि आउँदो वर्ष अध्ययन गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको छ ।

काठेखोलाको अक्षतेदेखि बिहुँ घोडाबाँधेहुँदै गलकोटको हटिया निस्किन ३८ किलोमिटर यात्रा गर्नुपर्छ । नरेठाँटी पुग्न ३५ किमी दूरी छ । यहाँ सुरुङमार्ग बने झण्डै पाँच किमीको सुरुङमार्ग बन्ला भन्ने स्थानीयवासीको आकलन छ । भूगोलको वास्तविक अवस्था, सडक र सुरुङको दूरी तथा त्यसका लागि हुने खर्चको विवरण भने अध्ययनले तयार गर्नेछ ।

सुरुङमार्ग अध्ययनका विषयमा स्थानीय तह पनि सकारात्मक छन् । “सम्भाव्यताको खोजी हो, हुने नहुने कुरा अध्ययनले भन्ला”, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भन्नुभयो, “काठेखोलाको ‘मुभमेन्ट’ घट्छ, मध्यपहाडीको हिसाबले यो सकारात्मक छ ।” उहाँले सम्भाव्यता अध्ययन र नतिजाका आधारमा समयमा काम हुनुपर्नेमा जोड दिनुभयो ।

बजेटमा सुरुङमार्गको विषय प्रवेशले सर्वसाधारणमा पनि आशा जगाएको छ । “बजेटमा अध्ययनको विषय पर्नु खुसीको कुरा हो, अहिले नै नबन्ला तर बन्यो भने पश्चिम बागलुङको बाटो निकै छोटो हुन्छ” ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका स्थानीयवासी चिन्तामणि शर्मा भन्नुहुन्छ, “घुमाउरो यात्रा सोझो हुन्छ ।”

छब्बीस वर्षअघि ट्र्याक खोल्न शुरु भएको बागलुङ–बुर्तिबाङ मध्यपहाडी लोकमार्गमा स्तरोन्नति भएपछि स्वरूप फेरिएको छ । बागलुङ बजारदेखि बुर्तिबाङ बजारसम्मको ९१ किलोमिटर दूरी छोटो बनाउन यो मार्गले सहयोग पुग्ने अपेक्षा छ । घोडाबाँधेबाट बुर्तिबाङसम्म कालोपत्रे भएको लामो समय बितिसक्दा समेत बागलुङ घोडाबाँधे खण्डको २७ किलोमिटर सडक कालोपत्रे छैन । सडककै अवस्था हेर्दा सुरुङमार्ग बन्छ भन्नेमा स्थानीयवासी ढुक्क भने छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij