२०८३ साउन ११ सोमबार

जसपामा स्पष्टीकरण लफडा, महन्थ ठाकुरको नौ बुँदे विरूद्ध उपेन्द्र यादवलाई सात बुँदे स्पष्टीकरण

ई आर्थिक    बुधबार, जेष्ठ १२ २०७८
6.6K
Shares
जसपामा स्पष्टीकरण लफडा, महन्थ ठाकुरको नौ बुँदे विरूद्ध उपेन्द्र यादवलाई सात बुँदे स्पष्टीकरण

ई–आर्थिक, काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालमा स्पष्टीकरणको लफडा सुरु भएको छ । दुई धारमा देखिएको जसपामा उपेन्द्र यादब–बाबुराम भट्टराई र महन्थ ठाकुर–राजेन्द्र महतो कित्ता देखिएको छ । यी दुबैले अहिले एक पक्षले अर्को पक्षलाई विभिन्न विषयहरुलाई आधार बनाएर स्पष्टीकरण सोध्ने क्रम सुरु भएको छ ।

यसैक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई नौ बुँदे स्पष्टीकरण सोधेका छन् भने वरिष्ठ नेता राजेन्द्र महतोलाई ६ बुँदे, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई ५–५ बुँदे स्पष्टीकरण सोधेका छन् । उनीहरुको व्यक्तिगत मेल तथा ह्वाट्स एपमा सो स्पष्टीकरण पत्र पठाइएको छ ।

यादवले स्पष्टीकरण मागेपछि अध्यक्ष ठाकुरले पनि जवाफमा यादवलाई उल्टै सात बुँदे स्पष्टीकरण सोधेका छन् । दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोधपनि हालसम्म कसैले जवाफ भने दिएका छैनन् ।

दुबै पक्षको स्पष्टीकरणमा के–के छ ?

यादवले ठाकुरलाई सोधेको नौ बुँदे स्पष्टीकरण

१. प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको ?

२. पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक वेवास्ता गर्ने, अनुपस्थित हुने र आफ्नो समर्थकलाई मात्र बोलाई पार्टी विधान र आचारसंहिता विपरित गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको ?

३. पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा हुँदा हुँदै छुट्टै कार्यालय सञ्चालन गर्ने कार्य किन गरेको ?

४. पार्टीको निर्णयबिना राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, संसद सचिवालयमा पार्टीको तर्फबाट पत्रहरू लेख्ने पठाउने कार्य किन गरेको ?

५. जेठ ३ गते दुई अध्यक्षले जारी गरेको ८ बुँदे सहमतिको विज्ञप्ति पालना किन नगरेको ?

६. पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरी संघीय संसदलाई पत्र पठाएको ?

७. पार्टीको आधिकारिक निर्णयबिना सरकारसँग वार्ता गर्ने भनेर लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारसँग वार्ता कार्यदलमा किन पठाएको ?

८. विधानमा नभएको व्यवस्थालाई आफूखुशी स्वेच्छाचारिता लाद्ने र पार्टीलाई आफ्नो पाकेटको बनाउने कार्य एवम् क्रियाकलाप किन गरेको ?

९. उपरोक्त विषयहरूका आधारमा तपाईंबाट पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भइरहेको तपाईंमाथि पार्टी विधानको धारा ४९ बमोजिम अनुशासन सम्बन्धी कारवाही किन नगर्ने ?

ठाकुरले उपेन्द्र यादवलाई सोधिएको सात बुँदे स्पष्टीकरण

१. पार्टी एकता भएदेखि नै समायोजनमा रुची नलिइ विभिन्न जिल्लाहरुमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधिहरु किन सञ्चालन गर्नुभयो ?

२. मेरो जानकारी वेगर अनधिकृत रुपमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठक बसी लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई किन निष्काशन गर्नुभयो ?

३. तपाईंले मिति २०७८–०२–०७ गते पार्टीद्वारा जारी गरिएको सर्कुलर बमोजिम कोभिड १९ को महामारीको बढ्दो संक्रमणले २०७८–०२–०८ र ९ गते निर्धारण गरिएको बैठक स्थगित गरिएकोमा कुन कारण र मनसायका साथ केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाई एकल अध्यक्षता गरी पार्टी हित विपरित निर्णयहरु गर्नुभयो ?

४. पछिल्लो समयमा मैले रोक्दा रोक्दै अनधिकृत रुपमा एकल अध्यक्षतामा निरन्तर पार्टीको केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठकहरू बसी पार्टी हित विपरित विभिन्न खाले निर्णयहरु किन गर्नुभयो ?

५. विगतका दिनहरुमा पार्टी र पार्टी सम्बद्ध मोर्चा तथा संगठनद्वारा गरिएको संघर्ष र आन्दोलनको क्रममा आन्दोलनकारी साथीहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता, बन्दी रिहाइ, उत्पीडित जातजाति र समुदायहरुको समानुपातिक समावेशी प्रतिनिधित्व, समानता, पहिचान र अधिकार प्राप्तिको निम्ति अपूर्ण रहेको संविधान संशोधन, नागरिकता सम्बन्धी समस्याको समाधान गर्ने उद्देश्यले गठित कार्यदलका सदस्यहरु श्री लक्ष्मणलाल कर्ण र श्री सर्वेन्द्रनाथ शुक्लले माग मुद्दा समाधान गराउने सवालमा जनभावना अनुरुप सकारात्मक कामहरु गरिरहेको अवस्थामा तपाईंलाई किन ठेस पुग्यो र के कारणले अनुशासनको कारवाही प्रक्रिया अगाडि बढाउनुभयो ?

६. तपाईंले मिति २०७८ जेठ ६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभा सदस्य श्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरित विपक्षी गठबन्धनका उम्मेदवार श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति २०७८ जेठ ७ गते किन र कुन कारणले हस्ताक्षर गर्नुभयो ?

७. तपाईंले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठन बन्धनको रिटमा किन हस्ताक्षर गर्नुभयो ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij