२०८३ साउन ९ शनिबार

डर, चिन्ता र नैराश्यताले मानसिक समस्या बढाएको छ

ई आर्थिक    बुधबार, जेष्ठ १२ २०७८
8.6K
Shares
डर, चिन्ता र नैराश्यताले मानसिक समस्या बढाएको छ

डा. करुणा कुँवर विष्ट, वरिष्ठ मनोविद्

काठमाडौंमा जन्मिएकी डा. करुणा कुँवर विष्ट सफल मनोविद्का रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएकी छन् । सरल र मिजासिली स्वभावकी कुँवर झन्डै दुई दशकदेखि यस क्षेत्रमा कार्यरत छिन् । पछिल्लो समय विदेशमा मात्रै भविष्य देख्नेहरूको संख्या बढिरहेका बेला नेपालमा नै केही गर्नुपर्छ र केही गर्न सकिन्छ भनेर यहीं सुनौलो भविष्यको सपना देख्ने थोरैमध्ये उनी पनि एक हुन् । छोरीहरू पनि प्रतिष्ठित क्षेत्रमा सक्रिय रहेर आफ्नो छविलाई उचाइ दिन सफल हुन्छन् भन्ने गतिलो उदाहरण पनि हुन् डा. कुँवर। चीनको वुहानबाट सुरु भएर अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणले निम्त्याएको स्वास्थ्य संकटमा हामी गुज्रिएका छौं । कतिले प्रियजन गुमाउनुपरेको छ । कति आफन्तहरू अहिले पनि जीवन र मरणको दोसाँधमा छटपटिएका छन् । कैयौंको रोजगारी गुमेको छ । स्वास्थ्य संकटसँगै आर्थिक समस्या पनि उस्तै छ । यिनै समस्याहरूले मानसिक तनाव बढाइरहेको छ । कोभिडको डर, चिन्ता र नैराश्यताले मानसिक समस्या बढाएको भन्दै समयमा नै संयमता अपनाउन सुझाव दिन्छिन् डा. कुँवर । मानसिक समस्याबाट बच्न सबैलाई सकारात्मक सोच्न, अनावश्यक चिन्ता नलिन सुझाव दिएकी छन् । यसै सन्दर्भमा कोभिडका कारण देखिएको मानसिक समस्याको अवस्था, रोकथामको उपाय, भावी दिनका चुनौतीलगायतका विषयमा केन्द्रित रहेर कारोबारकर्मी प्रगति ढकालले मनोविद् डा. कुँवरसँग गरेको कुराकानीको सार :

अहिले विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणले मानिसको मनोविज्ञानमा कस्तो खालको प्रभाव पारिरहेको छ ?

कोभिडका कारण धेरै प्रकारका असरहरू देखिएका छन् । मानिसहरूमा एक खालको डर, त्रास र अन्योलता त छँदैछ, अहिले धेरै मानिसलाई अबको अवस्था नै कस्तो हुन्छ भनेर अन्योलता छ र यो वर्ष अझ अघिल्लो वर्षभन्दा बढी डरको भावना पैदा भएको छ । अझ बढी उनीहरूमा नैराश्यता छाएको देखिन्छ । कोभिडका कारण भोलिको भविष्य के हुन्छ ? आर्थिक अवस्था के हुन्छ ? स्वास्थ्य अवस्था कस्तो रहन्छ ? लगायतका कुराले मानिसहरूमा अझै बढी तनाव सिर्जना गरिरहेको छ । यी समस्याले गर्दा मनोविज्ञनमा असर पुगिरहेको छ । राति निद्रा नलाग्ने, खान मन नलाग्ने, असहज महसुस हुने, तौल बढेको वा घटेको लगायतका समस्याहरू देखापरेको छ । यो बेलामा सर्वसाधारणहरू यस्ता समस्याहरू लिएर आउनुभएको छ । कोभिड भयो भने औषधि पाइँदैन, भेन्टिलेटर नपाए के होला भनेर पनि चिन्ता बढेको छ मानिसमा । यसले मानसिक असर परेको छ । अक्सिमिटर राख्ने, औषधि राख्ने, अक्सिजन सिलिन्डर राख्ने गरेका छन् ।

स्वास्थ्य क्षेत्र, सुरक्षा निकाय, पत्रकारिताजस्ता जो फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने हुन्छ, अरूले भन्दा यी व्यक्तिहरूले अझ बढी मानसिक तनाव भोग्नुपर्ने हुन सक्छ ? कसरी कन्ट्रोल गर्ने ?

जसलाई पनि अहिले असर गरिरहेको छ । फ्रन्ट लाइनमा मात्रै काम गर्नेलाई होइन कि घरभित्र मात्रै बसिरहेका मानिसहरूलाई पनि कोभिडका कारण असर परिरहेको छ । सबैभन्दा कस्तो हुने रहेछ भने तपाईं–हामी जसलाई पनि सबैभन्दा पहिला बाँच्ने रहर भई नै हाल्छ । प्रकृतिले नै बाँच्छु भन्ने भित्री इच्छाहरू प्रबल बनाइदिएको हुन्छ । यसले गर्दा अवश्य नै डर, चिन्ता त सबैमा छ; के हुने होला भन्ने त्रास सबै जनमानसमा छ नै । तर, के हुने रहेछ भने स्वास्थ्यकर्मीहरू जो रातदिन बिरामीहरूको उपचारमा खटिनुभएको छ, उहाँहरू दैनिक रूपमा नै एक्पोज हुनुुभएको छ । के लाग्छ भने उहाँहरूलाई आफूलाई कोभिड सर्न सक्छ भन्ने डर त छँदै छ, तर आफ्ना कारण परिवारका अरू सदस्यहरूलाई पनि सर्ने हो कि ? आफ्ना परिवारका सदस्यहरू बुबा, आमा, श्रीमान् वा श्रीमती, छोराछोरीलाई नोक्सानी पनि हुने हो कि भन्ने पाइन्छ । यसले पनि उहाँहरूलाई बढी मानसिक तनाव गराएको पाइन्छ । स्वास्थ्यकर्मी मात्रै नभएर पत्रकार, सुरक्षाकर्मी, बंैकरलगायतका जो अहिले पनि कार्यक्षेत्रमा कोभिडको महामारी नभनी खटिनुभएको छ, उहाँहरूलाई पनि यस्ता समस्याहरू छ । लकडाउनमा घरमै बस्नेलाई पनि तनाव त छँदैछ । तर हामीले मानसिक तनाव कम गर्नका लागि सकारात्मक सोचको विकास गर्ने, धेरै कुरा मनमा नलिने, हिम्मत बढाउने, खानपानमा ध्यान दिने, व्यायाम गर्ने गर्नुपर्छ, जो–कोहीले पनि ।

सञ्चारमाध्यममा आउने समाचार, करुणादायक फोटो या भिडियोका कारण जनमानसको मानसिक स्वास्थ्यमा कत्तिको असर गर्छ ? हामीले कस्ता कुरामा ख्याल गर्ने ?

एकदमै महŒवपूर्ण कुरा के छ भने अब हामीले सोच्यौं भने, मनलाई आत्तिने खालको तस्बिर एकपटक हे¥यौं भने त्यो हाम्रो मस्तिष्कमा वर्षौं रहन्छ नि त । अहिले त्यस्ता तस्बिर, भिडियोहरू साना केटाकेटीदेखि लिएर बूढाबूढीहरू जसले पनि हेर्न पुग्छन् । किनभने त्यस्ता तस्बिर, भिडियोहरू समाजिक सञ्जालमा आइरहेको हुन्छ । यसकारण यस्ता मन आत्तिने खालका कुराहरू नराख्दा नै राम्रो हुन्छ । समाचारलाई पनि सनसनी बनाउनका लागि यस्ता खालका, तस्बिर भिडियो राख्ने गरिन्छ । तर, हामीले चाहिँ त्यसले पार्न सक्ने मानसिक क्षतिका बारेमा सोचिरहेका हुँदैनौं । यसबारेमा पनि सोच्नुपर्छ । समाचार दिनुपर्छ । सत्यतथ्य दिनु राम्रो हुन्छ । तर, एकदमै करुणादायक भिडियो, फोटो राख्दा ख्याल गर्नुपर्छ । कति मानिसलाई मन नै भरंग गर्ने खालको वा अप्ठ्यारो महसुस गराउने खालको त होइन ? भन्ने कुराको ख्याल गर्नुपर्छ । सत्य कुरा देखाउनु पनि पर्छ, म मान्छु । समाचारले नै नभने कसले भन्छ र भन्ने खालका कुराहरू पनि छन् । एक जनाले काउन्सेलिङकै क्रममा के भन्नुभयो भने इन्डियामा दाउरा नपाएर ग्यासमा मानिस जलाएको भिडियो रहेछ । धेरै सेयर भएको रहेछ । उहाँलाई यही कुराले तनाव गराएर काउन्सेलिङ नै गराउनुपरेको थियो । यसकारण यस्ता कुराहरू ख्याल गरिनुपर्छ ।
पत्रकार मात्रै पनि होइन कि, हामी सबै सर्वसाधारणहरूले नै के ख्याल गरिदिनुपर्छ भने कस्ता कुराहरू सामाजिक सञ्जालमा पोष्ट गर्ने ? कस्ता कुराहरू नगर्ने ? हरेक नागरिक सचेत हुनुपर्छ । अब सबैको हातहातमा स्मार्ट फोन छ । कहीं केही देख्यो भने फोटो खिच्ने, अपलोड गर्ने, राख्ने छ नि त । हरेक मानिस नै पत्रकारजस्तै भएका छन् । यस्ता कुरा हेरेपछि मानिसको मानसिक अवस्थामा कस्तो खालको समस्या ल्याउन सक्छ भन्ने कुरामा ख्याल गरिनुपर्छ ।

यी र यस्ता किसिमका समस्याहरूबाट हामी कसरी बच्ने ?

अहिलेचाहिँ धेरै ठूलो कुरा सोच्नु हुँदैन । पहिला त सकेसम्म कोरोना भाइरसबाट बच्ने उपाय जे जानेका छौं त्यो गर्ने नै हो । दोस्रो भनेको यो बेलामा प्रशस्त मात्रामा हामी सुत्नुप¥यो । निदाउनुपर्छ । वयष्कले ८ घण्टा, किशोरकिशोरी हो भने १० घण्टा नै सुत्न राम्रो हुन्छ । जति सुत्यो त्यति नै रोगसँग लड्ने क्षमता राम्रो हुन्छ । अहिले पनि मानिसहरू तनाव हटाउनलाई सामाजिक सञ्जालमा धेरै बस्ने गर्छन् नि त ! राति पनि ढिला सुत्ने चलन छ । यस्तो गर्न हुँदैन । खानपानमा पनि कतिपय मानिसको अनियमितता छ । मानिसहरूको कहिले धेरै खाने, कहिले थोरै, कहिले छिटो खाने, कहिले ढिलो खाने बानी हुन्छ । यसैले पनि खानपानमा नियमितता हुनु जरुरी हुन्छ । प्रशस्त मात्रामा झोलिलो खानुपर्ने हुन्छ । पानीचाहिँ प्रशस्त मात्रामा पिउनुपर्छ । बालबालिकासँग खेल्ने, कुरा गर्ने तथा घरपरिवारसँग कुरा गर्दा अरूको कुरा पनि सुन्ने गर्नुपर्छ । आफ्ना कुरामात्रै गर्ने होइन । कुनै परिवारमा हिंसा भइरहेको छ भने हिंसापीडितलाई मात्रै होइन कि हिंसापिडकलाई पनि क्षति हुने हो । यसको सबैभन्दा बढी क्षतिचाहिँ घरमा बालबालिका छन् भने उनीहरूलाई हुन सक्छ । उनीहरूले अहिले दैनिक रूपमा हाम्रो व्यवहार हेरिरहेका छन् । उनीहरूमा पनि हुन सक्ने क्षतिका बारेमा पनि सोच्न जरुरी हुन्छ । दैनिक रूपमा आफ्नो शरीर तन्काउने, आफ्नै घरभित्र हिँडडुल गर्ने, आधा–आधा घण्टामा हिँड्ने, बिहान घाममा बसेर भिटामिन डी लिने गर्नुपर्छ । प्रकृति छ वरपर, जस्तै— हावा, पानी, बोटविरुवा, चराचुरुंगी, आकाश, यीसँग पनि अलिकति कनेक्टेट हुनुपर्छ ।

मानसिक रोगको समस्या कोभिडमा मात्रै बढेको हो ?

मानसिक समस्या भनेको त पहिल्यैदेखि नै हुँदै आएको छ । तर, यो कोभिडको महामारीले अझ बढी त्रास, डर, चिन्ता बढाएकाले मानसिक समस्या देखिएको छ । मानिसलाई पहिल्यैदेखि नै कुनै न कुनै रूपमा त भइराखेको छ, तर पनि मानिस सचेत मात्र नभएका हुन् । डर, चिन्ता, नैराश्यता भन्ने कुरा त अरू बेला पनि हुन्थ्यो । भइ नै राखेको थियो । तर, कोभिड अहिलेको अवस्थामा मानसिक तनाव बढाउन मुख्य कारक तत्व हो ।

कस्तो अवस्थामा डाक्टरकहाँ जाने ?

जब लगातार रूपमा निद्रा नलागेमा डरलाग्दा सपनाहरू देखिरहेमा खाना खान मन लाग्दैन । दैनिक गर्ने कामहरूमा रुचि कम हुन थाल्छ । टाउको दुख्छ । महिनावारी गडबड पनि हुनसक्छ । पिसाब छिटोछिटो लागेको, मन आत्तिएको छ र यो दुई हप्ता हुन लागेको छ भने मन दुःखी भएर निराश हुने, मरूँ–मरूँ लाग्ने अवस्थामा पुगेको छ, उपायहरू सोचेको छ भने डक्टरसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

मानसिक तनावले पार्ने असरहरू केके हुन् ?

यसको असरलाई हामीले मुख्यतया दुई किसिमबाट हेर्न सक्छौं । छोटो समयसम्म पर्ने असर र यसका दीर्घकालीन असरलाई हेर्नुपर्ने हुन्छ । छोटो समयका लागि गत वर्षलाई हेर्नुभयो भने मानिस डराए, अन्योलमा भए, फेरि कम भए । विस्तारै मानिसहरू समान्य जीवनमा फर्कंदै थिए । बाहिर निस्कने, व्यापार–व्यवसायलाई अगाडि बढाउने लगायतका कामहरू गर्न सकेका थिए । विस्तारै उनीहरूमा भएको मानसिक तनाव हटेर गएको थियो । समस्याहरू समाधान भइरहेको थियो । तर, फेरि अहिले कोभिडको लहर फैलियो । हामी अहिले स्वास्थ्य संकटमा फेरि गुज्रिएका छौं । फेरि पनि मानसिक तनाव बढाएको छ । कति अस्पतालमा छन् । कति घरमा नै स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । अहिलेको अवस्थालाई हेर्ने हो भने कतिपयले आफ्ना आफन्त, प्रियजनहरू गुमाएका छन् । गुमाएको मानिससँगको उसको सम्बन्ध कस्तो थियो । गुमाउँदाखेरि अवस्था कस्तो थियो ? कुन उमेरको थियो ? जस्ता खालका कुराले असर गर्छ । उसलाई आघातजन्य घटना हो नि त यो । बिस्तारै यसका असरहरू, लक्षणहरू देखिन थाल्छ । अहिले कोभिडका कारणले धार्मिक रूपमा गर्नुपर्ने काजक्रिया गर्न पनि मानिसले पाएका छैनन्; जुन धर्म–संस्कृतिअनुसार काजक्रिया गर्न नपाउँदा अपवित्र भएको महसुस हुँदो रहेछ । अशान्ति नटरेको जस्तो महसुस गरिरहेका छन् । बाँचिरहेका मानिसहरूलाई पनि आफूले ठूलै पाप गरिरहेको महसुस हुँदो रहेछ । यसले गर्दा पनि असर गरेको छ । कुनै पनि मानिसको मृतकसँगको नातासम्बन्ध कत्तिको निकट छ ? अनि आफन्त गुमाएपछि उनीहरूमा सहन सक्ने क्षमता कत्तिको छ ? यसअनुसार पनि मानसिक रोगका लक्षणहरू तय हुने रहेछ ।

मानसिक समस्याले सम्बन्धमा बढी असर गर्ने हो ?

अवश्य गर्छ । केही दिनअघि मात्रै तनाव बढिरहको थियो । उहाँको अंकल बित्नुभएछ । त्यसपछि सबै परिवारमा कोभिड रहेछ । कोही भेन्टिलेटरमा, कोही आईसीयूमा हुनुहुँदो रहेछ । तनावकै कारणले परिवारसँग झगडा भइराख्दो रहेछ । झगडा भएपछि घर छोडेर माइत जानुभएछ । माइत गएपछि पनि बुबाआमासँग झगडा परेछ उहाँको । किन झगडा भइरहेको छ त, अरू बेठीक हो कि म बेठीक हो भनेर काउन्सेलिङका लागि फोन गरिराख्नुभएको थियो । अनि अहिले कोभिडकै कारण मानिसलाई आर्थिक स्थिति अप्ठ्यारो परेको होला । यस्ता कारणले गर्दा हिंसाहरू पनि बढेको छ । गालीगलौज हुने, यही बेलामा श्रीमान्–श्रीमतीहरूले डिभोर्स गर्ने भनेर पनि निर्णय लिएको पाइन्छ । सम्बन्धमा धेरै ठूलो दरार आउँछ ।

डिप्रेसन र एनजाइटीमा के फरक छ ?

फरक छ । डिप्रेसन भनेको नैराश्यता हो भने एनजाइटी भनेको चिन्ता हो । चिन्ता भनेको छटपटी हुनु, एक ठाउँमा बस्न मन नलाग्नु, निन्द्रा नलाग्नु, मनमा कुरा धेरै खेल्नु, दिमागमा नकारात्मक कुराहरू मात्रै आइराख्नु एनजाईटीमा हुन्छ । डिप्रेसनमा निराशा हुन्छ । मन दुःखी हुन्छ । कहीं जान मन लाग्दैन । सबै चिजसँग झर्को लाग्छ । मरूँ–मरूँ लाग्छ । धेरैजसो अवस्थामा खान मन लाग्न छोड्छ । वजन एकदम धेरै बढ्ने र एकदम धेरै घट्ने पनि हुन्छ । प्रायः केही गर्न मन नलाग्ने हुन्छ । मध्यरातदेखि तपाईं अचानक ब्युँझिनुहुन्छ र त्यस्तो हुन थालेको लगातार दुई–तीन हप्ता हुन्छ भने योचाहिँ डिप्रेसनको लक्षण हो ।

यी दुवै रोगका बिरामी हस्पिटल जानैपर्ने हुन्छ ?

भर्खर सुरु भएदेखि मध्यमसम्म चाहिँ काउन्सेलिङ गर्दा नै ठीक हुन्छ । लक्षण देखिएको धेरै पनि भइसकेको छ र अवस्था गम्भीर देखिसकेको छ भने औषधि–उपचार जरुरी छ । तर राम्रो काउन्सेलिङ पाए भने औषधि–उपचार बिना नै निको हुन्छ ।

काउन्सेलिङ परिवारका सदस्यले पनि गर्न सक्छन् कि ?

परिवारले काउन्सेलिङ गर्न सक्दैन । परिवारले त डाक्टरकोमा छिटो लानका लागि सहयोग गर्ने हो । काउन्सेलिङचाहिँ मानसिक रोग विशेषज्ञले मात्रै गर्छ ।

डिप्रेसन भएपछि ठीक नहुने भन्ने पनि हुन्छ ? कति समयमा ठीक हुन्छ ?

ठीक हुन्छ । अधिकांश ठीक हुन्छ । तर, कसरी उसको उपचार भएको छ, काउन्सेलिङ कसले गरेको छ भन्ने कुरामा पनि भर पर्छ । नियमित उपचार गर्छ कि गर्दैन भन्ने कुराले पनि फरक पारेको हुन्छ । उपचारमा निरन्तरताचाहिँ दिनुपर्छ ।

लकडाउनका कारण कति मानसिक रोगीहरू गाउँघरबाट आउन सकिरहेका छैनन्, जसका कारण झन् मानसिक रोग बल्झने हुँदैन ?

हुन्छ । स्वास्थ्य मन्त्रालयबाट नै एउटा हटलाइन र टोल फ्री सिर्भिसेसहरू नै उपलब्ध गराएको छ । विभिन्न डाक्टरहरूको नामसहित । यसकारण जो मानसिक समस्याका बिरामीहरू हुनुहुन्छ, अहिले बन्दका कारण अस्पताल आउन सक्नुभएको छैन, उहाँहरूले चाहिँ टेलिफोनमार्फत डाक्टरको सुझाव लिन सक्नुहुन्छ । अहिले स्थानीय सरकार, स्वास्थ्यचौकीहरूले पनि धेरै सहयोग गरेको अवस्था छ । गम्भीर भएको अवस्थामा बिरामीले उहाँहरूसँग समन्वय गरेर पनि उपचारहरू गराइराख्नुपर्छ । टोल फ्री नम्बर सबै सेवाहरूको दिइएको छ । त्यसमा चाहिँ फोन गरेर आफ्ना समस्याहरू राख्न सक्नुहुन्छ ।

एक दशकयता मानसिक रोगीहरू बढिरहेका छन् भन्ने पनि छ, हो ?

अवश्य हो । यो युगलाई डिप्रेसिभ युग पनि भन्ने गरिन्छ । नेपालमा मात्रै नभएर संसारभर नै मानसिक रोगको अवस्था गम्भीर भएको छ । नेपालमा मानसिक रोगसम्बन्धी नीतिहरू अझै पनि आएको छैन । स्वास्थ्यअन्तर्गत मानसिक रोगका लागि बजेट ०.५ प्रतिशत मात्रै छुट्ट्याइन्छ । सचेतना छैन, यो रोगका बारेमा । यो रोगका बारेमा कसैले सचेत गराएन । अहिले कोभिडका कारणले गर्दा पनि मानसिक रोगका बारेमा चर्चा हुन थालेको छ । सबैको चासो बढ्न थालेको छ । मानिसहरूले आत्महत्या गरेका कारण पनि चासो बढ्न थाल्यो । पहिला–पहिला आमसञ्चारका माध्यमहरूले मानसिक रोगको विषयवस्तु खासै उठान गरेको पाइँदैनथ्यो । सबै खालका मानसिक रोगको विषयमा सर्वसाधारणलाई थाहा पनि छैन । मानसिक रोग भनेको पागलपनलाई मात्रै बुझ्ने चलन छ अझै पनि । तर पागलपन भनेको त एउटा मात्रै समस्या हो । मानसिक रोगमा धेरै खालका समस्या हुन्छ । तपाईं–हामी नै पर्छौं । हामीलाई चिन्ता भइरहेका होला । डिप्रेसनमा हौंला । तर, हामी काम सबै गर्न सक्छौं, मन शान्त नभएको हुनसक्छ । यसकारण मानसिक रोगको जनचेतनाचाहिँ कम छ ।

सबैभन्दा बढी मानसिक समस्याहरू कुन उमेर समूहमा हुन्छ ?

कुनै पनि उमेर समूहमा हुन्छ ।

मानसिक रोगका कारण आत्महत्या गर्नेहरूको संख्या बढेको छ भन्ने पनि छ नि हो ?

हो, मानसिक रोगकै कारण मानिसले बढीजसो आत्महत्याको बाटो रोजिरहेका छन् ।

अन्त्यमा केही छुट्यो कि ?

छैन ।

कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij