ई–आर्थिक, काठमाडौं । विपक्षी दलहरूले ओली नेतृत्वको विकल्पमा सरकार बनाउन अन्तिम कसरत गरेका गरेका छन् । यसका लागि चरणबद्ध छलफल पछि १४९ जना सांसदको हस्ताक्षर बोकेर काँग्रेस सभापति देउवासहित अधिकांश विपक्षी दलका नेता राष्ट्रपति निवास शीतल निवासमा पुगेका छन् । सिंहदरबारमा बसेको विपक्षी दलहरु काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र समूह र एमालेको माधव समूहको बैठकले सरकार बनाउने दावी पेश गर्ने निर्णयसँगै उनीहरु त्यसतर्फ लागेका हुन ।
बैठकपछि काँग्रेस नेता गगन थापाले सरकार बनाउन दावी गर्ने निर्णय भएको जानकारी दिए । काँग्रेसको ६१, माओवादीको ४९, माधव समूहको २७ र जसपाको १२ जना गरी १४९ जना सांसदको हस्ताक्षर बोकेर विपक्षीहरु राष्ट्रपति निवास शीतल निवास पुगेका हुन् । उनीहरुले प्रस्तावित प्रधानमन्त्रीको नाम भने सार्वजनिक गरेको छैन ।
प्रधानमन्त्रीका संभावित उम्मेद्वारमा नेपाली काँग्रेसका शेरबहादुर देउवा, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका नेता डा. बाबुराम भट्टराई समेतको चर्चा रहेको छ ।