ई–आर्थिक, काठमाडौं । नेपालमा प्रहरीले पहिलोपटक युरेनियम सहित चार जनालाई पक्राउ गरेको छ । २ किलो ९ सय ग्राम उक्त युरेनियमको मूल्य करिब २३ अर्ब रुपैयाँ पर्ने बताइएको छ ।
युरेनियम कारोबारमा पक्राउ पर्नेमा रामेछापका जानुका तामाङ, नारायणसिंह तामाङ, प्रकाश चौहान र सिन्धुलीका मनोज न्यौपाने रहेका छन् ।
उक्त युरेनियम रामेछापमा अम्बर लामाले बीस वर्षअघि भारतबाट ल्याएर राखेको प्रहरीको भनाई छ । अम्बर भारतमा युरेनियम खानीमा काम गर्थे । हाल भने उनी अमेरिकामा बस्दै आएका छन् । जानुका अम्बरकी बुहारी हुन् ।
धेरै पैसा पर्ने भन्ने थाहा पाएपछि जानुकाले युरेनियम बेच्न खोजिन् । यसबारे सुइँको पाएका प्रहरी ग्राहक बनेर उनको सम्पर्कमा पुगे । ससुराले भारतीय खानीबाट युरेनियम ल्याएका रहेछन् । बुहारी जानुकाले ग्राहक खोजेर बेच्न खोजिन् । ग्राहक भने नेपाल प्रहरीका जवान थिए ।
प्रहरीले एक हप्ताअघि नै युरेनियम भएको पत्ता लगाएर नेपाल विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो । प्रयोगशालाबाट युरेनियम पुष्टि भएपछि प्रहरीले बिहिबार साँझ बौद्धबाट जानुकासहितका चारजनालाई पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।
ससुराले २० वर्षअघि भारतबाट युरेनियम ल्याएको र अहिले अमेरिका बस्ने गरेको जानुकाले प्रहरीलाई जानकारी दिइन् । जानुकाले युरेनियम बिक्री गर्न सघाउनेलाई दुई करोड कमिसन दिने बताएकी थिइन् । दुई अर्बमा किन्ने भन्दै प्रहरी उनको सम्पर्कमा पुगेको थियो ।
प्रहरीले अमेरिकामा रहेका अम्बरलाई पनि मुद्दा चलाउने भएको छ । उनलाई नेपाल बोलाएर अनुसन्धान गर्न सकिने र बोलाउँदा नेपाल नआए फरार अपराधीको रुपमा अदालतमा पेस गरिने भएको छ ।
युरेनियमको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार २० करोड अमेरिकी डलरभन्दा माथि पर्ने जुन नेपाली रुपैयाँ करिब २३ अर्ब हुन्छ । शुद्ध युरेनियमको बजार मूल्य १० ग्रामको २१ लाख ९ हजार अमेरिकी डलर अर्थात् नेपाली मूल्य करिब २४ करोड २५ लाख पर्ने प्रहरीले जानकारी दिएको छ । ‘आणविक भट्टीमा प्रयोग हुने यो पदार्थले आधा नेपाललाई क्षति पुग्नेगरी विस्फोट गर्न सक्ने प्रहरी वताउँछ । नेपालमै पहिलोचोटि बरामद गरिएको युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो ।
२३८ पारमाणविक भार हुने यो धातुले लगातार ऊर्जावान् विकिरण फ्याँकिरहने भएकाले यसको सीमित आयु हुन्छ । प्राकृतिक रूपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम–२३५ बनाइन्छ । एक किलो युरेनियम–२३५ बाट उत्पादित विद्युत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुने वैज्ञानिकहरूको भनाई छ ।