२०८३ साउन ११ सोमबार

जडीबुटीका क्षेत्रमा लगानी बढाइने

ई आर्थिक    सोमबार, माघ ५ २०७७
3K
Shares
जडीबुटीका क्षेत्रमा लगानी बढाइने

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशको आयस्रोत तथा नागरिकको आर्थिक स्थिति बढाउनका लागि जडिबुटीका क्षेत्रमा लगानी बढाइने बताउनुभएको छ । आज जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको अवलोकनका क्रममा उहाँले नेपालमा उत्पादन हुने जडिबुटीहरुको सदुपयोग गर्न सरकार लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रै देशमा उत्पादन हुने जडिबुटी लगेर छिमेकी मुलुक धनी भइसकेका छन्, पतञ्जलीले मात्रै करोडौँ रकम कमाइसकेको छ । अब हाम्रा जडिबुटी नेपालमै प्रसोधन गरी यहाँका नागरिकको आयस्तर बढाउनु पर्छ ।” मन्त्री आलेले जडिबुटी उत्पादनको क्षेत्रमा सरकारले लगानी गर्ने भएकाले इच्छुक नागरिक, फर्म तथा कम्पनीहरुलाई निकै फाइदा पुग्ने बताउनुभयो ।

सरकारी स्वामित्वको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई थप व्यवस्थित बनाउन मन्त्रालयले गृहकार्य अघि सारेको समेत जानकारी दिनुभयो । “अब एक घर एक जडिबुटी खेती भन्ने योजना अघि सारिने छ” उहाँले भन्नुभयो, “बेरोजगार युवालाई रोजगारी पनि हुने र आफ्नो आयस्तर पनि बढ्ने भएकाले अन्य खेती गर्नुभन्दा जडिबुटी खेती गर्नु राम्रो हुनेछ ।” यसैगरी जडिबुटी खेती गर्ने किसानलाई सरकारले अनुदानको समेत व्यवस्था गर्ने मन्त्री आलेले जानकारी दिनुभयो ।

कम्पनीका महाप्रबन्धक ज्ञानेन्द्र कार्कीले कर्णाली प्रदेशको जाजरकोटमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिएको र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी निर्माणको सिलसिलामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कञ्चनपुरमा हाम्रो आफ्नै २० रोपनी जमीन छ, त्यसमा हामी उत्पादन तथा प्रशोधन केन्द्र निर्माण गर्दैछौँ, यसबाट त्यहाँका जडिबुटी खेती गर्ने किसानलाई फाइदा हुनेछ ।” उहाँका अनुसार कम्पनीसँग देशभरमा कुल ४३२.८ हेक्टर जमीन रहेको र ८०० बिघामा जडिबुटी खेती भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij