सन्दर्भ : राष्ट्रिय पोल्ट्री दिवस
भरतपुर । नेपालमा कुखुराको मासु, अन्डा र चल्लाको व्यावसायिक उत्पादन भए पनि यसले उत्पादन र बजार व्यवस्थापनमा स्थायित्व प्राप्त गर्न सकेको छैन ।
कुखुराको मासु तथा अन्डामा आत्मनिर्भर रहेको भनिए पनि यसको व्यवसायमा हुने अस्थिर मूल्य निर्धारणले नै स्थायित्वमा समस्या देखिएको हो । पोल्ट्री व्यवसायी तथा नेपाल ह्याचरी सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेल कुखुराजन्य वस्तुमा देखिएको मूल्यमा उतारचढावले समस्या आएको बताउनुहुन्छ ।
अहिले चितवनमा ३५० रुपियाँ क्रेटका हाराहारीमा अन्डा बिक्री भइरहेको छ । चितवनमा गत वैशाख–जेठतिर प्रतिकिलो सय रुपियाँ हाराहारीमा रहेको जिउँदो कुखुरा अहिले बढेर २१० रुपियाँ किलोभन्दा माथि छ । कुखुराको मासु ३३० रुपियाँ किलोमा बजारमा कारोबार भइरहेको छ ।
यस्त अहिले बोइलर चल्ला ७० रुपियाँ प्रतिगोटा र लेयर्स चल्ला १२५ रुपियाँ प्रतिगोटा कारोबार भइरहेको छ । “भाउ आयो भनेर सबै कुखुरामै केन्द्रित हुन्छन् अनि फेरि मूल्य गिरावट आएपछि सबै विस्थापित हुने अवस्था जबसम्म रहन्छ तबसम्म यसले व्यवसायमा दीर्घकालीन असर पार्छ,” उहाँले भन्नुभयो ।
नेपाल कुखुरा व्यवसाय मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बराल कुखुरापालनमा आधुनिकीकरण र व्यवसायीकरणले यसलाई आत्मनिर्भर बनाए पनि यो अझै व्यावसायिक नभइसकेको तर्क गर्नुहुन्छ । खुला सीमाका कारण अवैध रूपमा भित्रिने भारतीय कुखुराले प्रभाव पारेको उहाँको अनुभव छ । “उत्पादकदेखि उपभोक्तासम्म पुग्ने व्यापारिक च्यानल धेरै भएका कारण उपभोक्ताले उचित मूल्यमा अन्डा र मासुको उपभोग गर्न नपाएको अवस्था छ,” उहाँले भन्नुभयो।
२०१७ साल पुस १७ गते परवानीपुरमा सेन्ट्रल ह्याचरीको स्थापना भएपश्चात् नेपालमा व्यावसायिक कुखुरापालन सुरु भएको मानिन्छ । सोही दिनलाई स्मरण गर्दै २०७० सालदेखि नेपालमा हरेक वर्ष पुस १७ गतेका दिनलाई राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मनाइन्छ । नेपालमा अन्डा उत्पादनका लागि पालिएका ४० लाख लेयर्स कुखुराबाट २५ लाख गोटा अन्डा उत्पादन र पाँच करोड २६ लाख ६६ हजार २९ बोइलर कुखुरा मासुका लागि पालिएको छ । नेपालको ६४ जिल्लामा २१ हजार ९५६ कुखुरापालन फार्म छन् । सातामा ३० देखि ३५ लाख बोइलर चल्ला उत्पादन हुने गर्दछ।
नेपालमा उत्पादन हुने कुखुराको मासु र अन्डामध्ये ६० प्रतिशत उत्पादन चितवनले धानेको छ । पञ्चरत्न फिड्स प्रालिका प्रबन्ध निर्देशक डा. तिलचन्द्र भट्टराई नेपालमा कुखुराको मासु र अन्डा भण्डारण गरेर राख्नसक्ने प्रोसेसिङ प्लान्टहरू निर्माण नहुँदा कुखुराको बजारमा एकरूपता आउन नसकेको बताएको समाचार वसन्त पराजुलीले आजको गोरखापत्रमा लेखेका छन् ।