ई–आर्थिक, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयरको विक्री आजदेखि खुला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।
बाँकी रहेको ५४ लाख कित्तामा सर्बसाधारणले आवेदन दिन पाउने छन् । लगानीकर्ताले आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
आईपिओमा छिटोमा मङ्सिर २ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कमलादी, काठमाडौँ तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ । त्यस्तै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको र ६० करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ ।
पछिल्लोपटक आएको साधारण सेयर मध्ये यो इन्स्योरेन्स कम्पनीको सेयर पनि लगानीकर्ताको लागि प्रतिफलमुखि रहेको विश्लेषकहरुको भनाई छ ।