ई–आर्थिक, काठमाडौं । वैदेशिक रोजगारीमा गई कागजपत्रविहीन भएर विदेशमा अलपत्र अवस्थामा रहेका अवैधानिक नेपाली महिला कामदारलाई निःशुल्क उद्धार गरिने भएको छ । यसरी विभिन्न देशमा अलपत्र अवस्थामा परेका नेपाली महिलाहरुलाई आप्रवासी महिला कामदार समूह (आमकास नेपाल) ले उद्दार गर्न लागेका हो ।
आमकास नेपालकी प्रमुख विजया राई श्रेष्ठले अवैधानिक भइ स्वदेश फर्किन नसकेका महिला कामदारलाई उद्धार गर्ने तयारी थालिएको बताइन् । पहिलो चरणमा १५ जना महिलाई उद्धार गरिने उनले जानकारी दिइन । उनका अनुसार संस्थाले दूतावास तथा एनआरएनएसँग समन्वय गरेर उनीहरुको ट्राभल्ल डकुमेण्ट बनाइदिने छ ।
टिकट काट्ने पैसा नभएका त्यस्ता महिलाहरुलाई हवाई टिकट समेत उपलब्ध गराइने भने उनीहरुको कोरोना परीक्षणको खर्चसमेत संस्थाले व्योहोर्ने छ । उद्धार गरी ल्याइएका महिलाहरुलाई काठमाडौंमा आवासको पनि व्यवस्था गरिनेछ ।
‘अहिले कोभिड महामारीको बेलामा धैरै नेपाली महिला दिदिबहिनीहरु विदेशमा समस्यामा पर्नु भएको छ । वैधानिक कामदारहरुलाई त सरकारले पनि सहयोग गरिररहेको छ । तर, अवैधानिकहरुलाई कतैबाट पनि सहयोग गरिएको छैन । उनले भनिन्– ‘अवैधानिक महिलाहरुको अवस्था झन दर्दनाक छ । त्यसैले हामीले त्यस्ता महिलाहरुको उद्धार गर्न लागेका हौँ ।’ पहिलो चरणमा १५ जना भएपनि त्यसको संख्या क्रमश: बढाइने उनको भनाइ छ ।
कोेरोना महामारीकै बीचमा विदेशबाट फर्किएका १५० जना महिलालाई आमाकस नेपालले विभिन्न किसिमका सहयोग गरेको पनि उनले जानकारी दिइन् । आमाकसले विदेशमा विभिन्न समस्यामा परेर फर्किएका महिलालाई मनोपरामर्श, कानुनी सहयोग, मेडिकल सपोर्ट तथा आवासको व्यवस्था गर्दै आएको छ ।
समस्यामा परेका अवैधानिक महिलाले आमाका नेपालको ०१४३७३९६३ वा ९८४१४०४३३७ नम्बरमा सम्पर्क गर्न पनि उनले अनुरोध गरिन् ।